पोखरा न्यूज -५ , बैशाख। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले आज (बिहिबार) आव्हान गरेको नेपाल बन्दको क्रममा पोखराका बिभिन्न स्थानमा बम र शंकास्पद बस्तु भेटिएका छन् । बिहिबार पोखरा नदीपुरको प्रदेशसभा भवन नजिक, चिप्लेढुंगाको ट्रेडमल पछाडी र लेखनाथको सैनिक बस्तीमा बम र शंकास्पद बस्तु भेटिएका हुन् ।
प्रदेशसभाको गेट अगाडी बिहिबार भेटिएको बमलाई डिस्पोज गर्ने क्रममा नेपाली सेना कालीभञ्याङ गण पोखराका नायक धर्मबहादुर थापा घाइते भएपछी उपचारका लागि उनलाई काठमाण्डौ लगिएको छ । डिस्पोज गर्ने क्रममा डेटोनेटर पड्किदा देब्रेहातको औलाहरुमा क्षति पुगेपछी थापालाई उपचारका लागि काठमाण्डौ पठाइएको हो ।
डेटोनेटर पड्किदा घाइते भएका थापालाई प्रारम्भिक उपचारका लागि पोखरास्थित फिस्टेल अस्पतालमा लगिएकोमा थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए।
पोखरामा पछिल्लो क्रममा ट्रेडमल पछाडी भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको डिएसपी गुरुङले बताए ।
त्यसै गरी पोखरा -२९ लेखनाथ स्थित सैनिक बस्ती सडकमा बिहिबार बिहान भेटिएको शंकास्पद बस्तुलाई कालीभञ्याङ गण पोखराको टोलीले करिब एक घण्टामा डिस्पोज गरेको थियो। पोखराका बिभिन्न ठाँउमा बिहानैदेखि बम भेटिएको खबरले पोखरेली त्रसित भएका थिए ।
बिहिबार पोखरामा लामो तथा छोटो दुरीका सार्वजनीक यातयातका साधनहरु चल्न सकेनन भने स्कुल, कलेज पुर्ण रुपमा ठप्प भए । पोखरा क्षेत्रको बजारमा मोटरसाइकल तथा रातो प्लेडका केहि गाडीहरु भने गुडेका छन् । पोखराका केहि किराना पसल, चिया पसल तथा रेष्टुरेण्टहरु खुलेतापनि अन्य प्रतिष्ठित एवं ठुला पसलहरु भने खुल्न सकेका छैनन् ।
सार्वजनिक सवारी साधनहरु नचल्दा आम सर्वसाधरण जनताले भने बिहिबार सास्ती भोग्नु परेको छ ।