पोखरा न्यूज -२८ मंसिर। धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बम विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।
महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय नजिकैको दुरीमा गएराति सवा १२ बजेतिर भएको बिस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो विष्फोटमा परि गम्भीर घाइते भएका प्रहरी इन्सपेक्टर अमिर कुमार दाहालको शनिबार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
साहको घर नजिकै शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट इन्सपेक्टर दाहालसहितको टोली खटिएर भिड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।
बिस्फोटमा साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजन महतो घाइते छन् । घाइतेहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको हो ।