पोखरा न्यूज – २४ , माघ । पोखरा – ०६ लेकसाइड स्थित अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा शुक्रवार आगलागी भएको छ ।
टिन र फलामको ट्रष्ट सहितको उक्त रेस्टुरेन्टमा शुक्रवार दिउसो १२:३० बजे सल्केको आगो निभाउनका लागि सुरक्षाकर्मी सहितको टोलि घटना स्थलमा खटिएको छ ।
पोखरा महानगरको दमकलको सहायताबाट शशस्त्र प्रहरी, प्रहरी र स्थानियको सहयोगमा रेस्टुरेन्टमा लागेको आगो निभाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले जानकारी दिए ।
आगलागी भएसँगै स्थानीयको सहयोगमा केहि सामानहरु बाहिर निकालिएको र ट्रष्टको माथिल्लो भाग फोरेर आगो नियन्त्रणमा लिने प्रयास भैरहेको घटनास्थलबाट स्थानीय शिव अधिकारीले पोखरा न्यूजलाई जानकारी दिए ।
रेस्टुरेन्ट खुला स्थानमा रहेकाले आगो अन्यत्र फैलिने खतरा भने नरहेको र आगो नियन्त्रणको क्रममा रहेको बताइएको छ ।
किरण गुरुङले संचालनमा ल्याएको उक्त रेस्टुरेन्टको किचनबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।