विकासमा राजनीति नगर्न ः मुख्य सचिव सुवेदीको आग्रह

दिननाथ बराल

पोखरा, १ भदौं :

मुख्य सचिव डाक्टर सोमलाल सुवेदीले विकासको नाममा कसैले पनि राजनीति नगर्न आग्रह गरेका छन । कास्कीमा जन्मिएका मुख्य सचिवलाई कास्कीका ६ वटा संस्थाले मंगलबार पोखरामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले देशमा हरेक क्षेत्रमा राजनीति भएका कारणले गर्दा विकास हुन नसकेको बताउदै विकासको नाममा राजनैतिक दल देखि अन्य कसैले राजनीति नगर्न आग्रह गरेका हुन।

उनले भने ‘भनाई र गराई फरक हुदाँ विकासले गतिलिन सकेका छैन, अधिकारको कुरा गर्दा कर्तव्यलाई विर्सन हुँदैन, सबै मिलेर काम गरे देशलाई नमुना बनाउन सकिन्छ ।’ देश र जनतालाई केन्द्रमा राखेर पारदर्शी ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै मुख्य सचिव सुवेदीले सम्मान जिम्मेवारीको भारी भएको बताउँदै समग्र कास्कीको विकासमा आफुले सक्दो सहयोग गर्ने बचन दिए । उनले भने “सिंहदरबार भन्दा पनि गाविस र नगरका वडा कार्यालय ओजनदार भए मात्र छिटो र छरितो जनताले सेवा सुविधा पाउँछन्, स्थानीय निकायलाई बढि जिम्मेवार बनाउनु पर्दछ ।” लेखनाथको लामेआहालमा बसपार्क निर्माणको लागि फिल्ड अध्ययन भइसकेको बताउदै विकासको निमार्णमा सवै जुट्नु पर्ने समय आएको उनले जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीक सभापति तथा सभासद् यज्ञबहादुर थापाले मुख्य सचिवको काममा कास्कीका राजनीतिक दलहरु र सभासद्हरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । नेकपा एमालेका कास्कीका अध्यक्ष कृष्ण थापाले स्थानीय निकायको निर्माचन लामो समयदेखि नहुदाँ जनताले सास्ती व्यर्होनु परेको गुनासो गरे । एकिकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोइरालाले सुवेदी चुनौतिपूर्ण अवस्थामा मुख्य सचिव बन्नु भएको बताउँदै चूनौतिको सामना गर्दै देखिने गरी सुधारका काम गर्न आग्रह गरे ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले ६ महिना भित्र स्थानीय निकायको निर्वाचन गराउन पहल गर्नुपर्ने बताए । पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले पोखराको पृथ्वीचोकमा बसपार्क निर्माणको लागि पहल थालिएको बताए । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, कोत्रेदेखि हरिचोकसम्म चार ६ लेनको सडक निर्माण लगायत ग्रेटर पोखरा निर्माणको लागि पहल गरिदिन मुख्य सचिवको ध्यानाकर्षण गराए ।

थानीय विकास अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सभासद्हरु शारदा पौडेल, जीवन परियार, बृन्दा रानामगर, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, पोखरा उप—महानगर पालिकाका प्रवक्ता अनन्तप्रसाद कोइराला लगायतले सुवेदीको कार्यकालको सफलताको कामना गर्दै यस क्षेत्रको आर्थिक विकासमा ध्यान दिन आग्रह गरे । डाक्टर सुवेदीलाई जिल्ला विकास समिति कास्की, पोखरा उप—महानगरपालिका, लेखनाथ नगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, पोखरा उद्योग बाणिज्य संघ, लेखनाथ उद्योग बाणिज्य संघले संयुक्त दोसल्ला ओढाएर सम्मान गरेका थिए । कास्कीको थुम्की गाविसमा जन्मिएका सुवेदी ३४ वर्षे सरकारी सेवापछि मुख्य सचिव भएका हुन ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button