सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान हुँदैन – प्रम ओली

काठमाडौँ, २४ जेठ –

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान नहुने बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उहाँले भन्नुभयो – “स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीता गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्न म विदेशिन खोज्ने युवालाई आग्रह गर्दछु ।” नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औ राष्ट्रिय महाधिवेशन तथा २०औ महिला उद्यमी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै धेरै रोजगारीको सिर्जना गर्न सरकारले प्राथमिकता दिएको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम एवम् बजेट स्वदेशमा रोजगारी सिर्जना गर्न नै केन्द्रित रहेको, यसका लागि घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गर्न जोड दिइएको उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर थियो, विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ, यस्तो अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव रहेको उल्लेख गर्नुभयो ।“महिला सशक्तीकरणका गफ चुट्नुभन्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ यसतर्फ लाग्नु अहिलेको आवश्यकता हो” – उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले रोजगारीको सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउने माध्यम घरेलु तथा साना उद्योग हुनसक्ने धारणा राख्नुभयो ।

सो अवसरमा प्रम ओलीले सांसदहरु छोवाङतेन्जिन तामाङ, डा भीष्मनाथ अधिकारी, चन्द्र महर्जन, नरबहादुर चन्द, पार्वत गुरुङ, विश्राम चौधरी र राजु खनाललाई घरेलु तथा साना उद्योग प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएबापत सम्मान गर्नुभएको थियो । यसैगरी प्रम ओलीले महासङ्घका पूर्व अध्यक्षहरु ओम गुरुङ, रमेशकुमार श्रेष्ठ, वासुदेव गिरी, पद्मप्रसाद पौडेल, आङटेन्डी शेर्पा, लता प्याकुरेल तथा महिला उद्यमीहरु ईनु पौडेल, मनु केसी, अञ्जना ताम्राकारलाई पनि सम्मान गर्नुभएको थियो । दुईदिने सो सम्मेलनमा देशभरका घरेलु तथा साना उद्योगीको सहभागिता रहेको छ । सम्मेलनले अगामी तीन वर्षका लागि नयाँ नेतृत्वको चयनसमेत गर्नेछ ।

महासङ्घका अध्यक्ष सुरेश प्रधानले पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका घरेलु तथा साना उद्योग पुनःस्थापनामा ध्यान नदिएको, औद्योगिक नीति पारित भएको छ वर्ष बितिसक्दा पनि लागू हुन नसकेको र आव २०७३-७४ को बजेट घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्न ठोस कार्यक्रम नआएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button