सबै समुदाय शिक्षित भए देशको इज्जत बढ्छ – पूर्वमुख्यमन्त्री माझी

महेन्द्रनगर (धनुषा), २६ जेठ –

मित्रराष्ट्र भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री जितनराम माझीले दलितभन्दा पनि विपन्न वर्गको उत्थानमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।

मङ्गलबार जनकपुरमा मुसहर हक अधिकार महासम्मेलन तथा राष्ट्रिय मुसहर उत्थान समाज, नेपालको प्रथम महाधिवेशन उद्घाटन गर्दै माझीले मुसहर वा अन्य दलित अथवा कथित उच्च जातिकै मानिस भएपनि गरिबीको चपेटामा परेको छ भने समुदायका लागि मात्र नभएर देशकै चिन्ताको विषय बन्नुपर्दछ ।माझीले भन्नुभयो, “समुदाय मिलेर नै देश बनेको हुँदा सबै समुदाय शिक्षित र सम्पन्न भए मात्र देशको इज्जत बढ्छ ।” सम्मेलनमा झापादेखि नवलपरासीसम्म ३२ जिल्लाबाट सहभागी भएका मुसहर समुदायलाई सचेत गराउँदै माझीले समाजमा सबभन्दा पछाडि परेको मुसहर समुदायलाई माथि उठ्न अधिकारसँगै कर्तव्य पालनामा जोड दिनुभयो । उहाँले अत्यधिक मदिरा पिउने समुदायका रुपमा चिनिएका मुसहरलाई मद्यपान त्याग्न, स्वच्छ र शिक्षित बन्न तथा धामीझाँक्रीको परम्परा त्यागेर स्वस्थ रहने उपाय सिक्नुपर्ने बताउनुभयो । उहाँको कथन थियो, “बिहान ओछ्यानबाटै रक्सी खाने र खानकै लागि मात्र काम गर्ने मुसहर जातिको परम्परालाई त्यागेर बालबच्चाको पढाइमा खर्च गर्ने र बच्चालाई कसरी शिक्षित नागरिक बनाउन सकिन्छ भनेर सोच्ने मनोवृत्तिको विकास गर्न जरुरी छ ।”

माझीले आफूले गरिबीको पीडा राम्ररी बुझेको बताउँदै परम्परावादी सोचलाई परित्याग गरेर बालबालिकालाई शिक्षित बनाउँदै लग्नुपर्नेमा जोड दिनुभयो । कुनै बेला रक्सी बनाएर बेच्ने परिवारमा जन्मेको आफूले ७० वर्षको उमेर सम्म पनि कहिल्यै नसालु पदार्थको स्वाद नचाखेको बताउँदै उहाँले आफू दश वर्षको हुँदा बाबुलाई त्यो काम छोड्न लगाएर सभ्य परिवार बनाउने नेतृत्व लिएको स्मरण गर्दै आज आफू राजनीति गरेर मात्र मुख्यमन्त्री बनेको होइन बरु शिक्षित भएर हो, फेरि आफ्नो भाइ प्रहरीको इन्स्पेक्टर हुन सफल भए, त्यो पनि शिक्षित भएर मात्र । शिक्षित भएर नै म राजनीतिमा अहिलेको स्थानसम्म पुग्न सफल भएँ, उहाँले भन्नुभयो, “ तपाँईहरु आफैँ शिक्षित र योग्य हुनुभएन भने अधिकार पाएर पनि केही गर्न सक्नुहुन्न ।” उहाँले भारतका संविधान निर्माता डा अम्बेडकरको भनाइ ‘हामी शिक्षित बनौँ । अधिकार उपभोग गर्न योग्य बनौँ । सङ्गठित होऔँ र त्यसपछि मात्रै राज्यले अधिकारबाट वञ्चित गरेको छ भने सङ्घर्षका लागि तयार होऔँ’ भन्ने उक्तिलाई उद्धृत गर्दै भन्नुभयो, “दलित र विपन्न वर्गका बालबच्चालाई पढाउन निःशुल्क बस्ने, खाने व्यवस्था सहितको आवासीय विद्यालय खोल्न आफूले भारत सरकार मार्फत नेपाल सरकारसँग माग गर्नेछु ।” त्यस्तै, मुसहर जातिलाई अघि बढ्ने प्रेरणाको स्रोतका रुपमा रहेका दिनाराम, दिनाभद्रीको नाउँमा ट्रस्ट निर्माण गर्न पनि उहाँले नेपाल सरकारसँग मागसमेत गर्नुभयो ।

उहाँले जनकपुरमा मुसहर समुदायको पथप्रदर्शक सवरीको मन्दिर निर्माण र हरेक दलित बस्तीमा शौचालय निर्माणका लागि आवश्यक पहल गर्न भारत सरकारसँग माग गर्ने बताउँदै अहिले भारतका प्रधानमन्त्री विपन्न समुदायको उत्थानका लागि अभियान नै चलाइरहनुभएको बताउँदै यो प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गर्दै नेपालमा पनि सहयोग गर्नुहुनेछ भन्ने आफूलाई विश्वास भएको बताउनुभयो ।

सम्मेलनमा माझीलाई आयोजकले दिनाभद्रीको उपाधि प्रदान गरी अभिनन्दन गरेका थिए । मुसहर समुदायका अगुवा ‘कालु सरदार’ को उपाधि सिया सादालाई र ‘सवरी माता’ को उपाधि घुर्नीदेवी सादालाई प्रदान गरियो ।

त्यस्तै, उक्त कार्यक्रममा पत्रकारिताको माध्यमले छुवाछूत र भेदभावविरुद्ध आवाज उठाएको भन्दै सञ्चारकर्मी सुरेश यादव, हदिश खुद्दार र कैलाश दासलाई सम्मान गरिएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button