पोखरान्युजडटकम, ५ असार –
सामान्य प्रशासनमन्त्री रेखा शर्माले अहिलेको मूल कार्य नै संविधान कार्यान्वयन भएकाले सबै राजनीतिक दल एकै ठाउँ आएर राष्ट्रिय सहमति गरी संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रासस केन्द्रीय समितिको तेस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राजनीतिक दलबीच राष्ट्रिय सहमति अत्यावश्यक भएको र स्थानीय तहको निर्वाचन २०७४ जेठसम्म सम्पन्न गरिसक्ने सरकारको लक्ष्य पूरा गर्न राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो । सोही अवधिभित्र एकात्मक प्रणालीमा रहेका कर्मचारीलाई सङ्घीय प्रणालीमा व्यवस्थापन गर्नुपर्ने भएकाले त्यससम्बन्धी ‘क्यालेन्डर’ तयार गरी व्यवस्थापिका–संसद्मा पेस गर्ने तयारीमा रहेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले समाचार उत्पादनका क्षेत्रमा राष्ट्रिय समाचार समितिको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले राससको कार्यशैली निजी क्षेत्रका समाचार माध्यमको भन्दा अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेले सबै सङ्घसङ्गठनको साथ सहयोगमा लामो समयदेखि संस्थामा कार्यरत अस्थायी कर्मचारीको व्यवस्थापन गरिएको बताउँदै राससको विश्वसनीयता र आधिकारिकता सर्वत्र स्वीकार्य भएको चर्चा गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का तथा कर्मचारी फ्याक्सन सह–इन्चार्ज राजकुमार शर्मा ‘आर्ट’ ले संस्थाभित्र क्रियाशील रहेका विभिन्न सङ्घसंस्थाबीच एकताको खाँचो औँल्याउनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन कार्कीले सार्वजनिक संस्थानको सुधार गर्न निजीकरण गर्नु उपयुक्त नहुने भन्दै अन्य विकल्पको खोजी गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर शाहीले संस्थाको सुदृढीकरण, समृद्धि र कर्मचारीको हकहितका क्षेत्रमा सङ्गठनले जोड दिनुपर्ने बताउनुभयो ।
संस्थान राष्ट्रिय समितिका उपाध्यक्ष तिलकजङ्ग बुढाथोकीले संस्थामा भूगोल सुहाउँदो पुनःसंरचनाका विरुद्धमा आफ्नो सङ्गठन नरहेको बताउँदै सङ्गठनले कर्मचारीको वृत्तिविकासका सन्दर्भमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
राससका पूर्वसल्लाहकार तथा प्रेस सेन्टर नेपालका सचिवालय सदस्य बलराम थापाले सरकारी मिडियामा नै श्रमजीवी ऐनको मुद्दा कमजोर बनिरहेको बताउँदै यसको कार्यान्वयन गराउन सक्ने नेतृत्व सङ्गठनले चयन गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछानेले नयाँ नेतृत्वले संस्थाका कर्मचारीको हकहितका क्षेत्रमा कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले सङ्गठनले कर्मचारीको वृत्तिविकासका लागि मात्र नभई संस्थाको प्रगतिका लागि पनि कार्य गरिरहेको जानकारी दिनुभयो । राससमा विसं २०६५ मा सो सङ्गठनको स्थापना भएको हो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution