पोखरान्युजडटकम, ६ असार –
कीर्तिपुर नगरपालिकाले काठमाडौँ महानगरपालिकालाई दमकल हस्तान्तरण गरेको छ ।
झन्डै दुई वर्षदेखि जनशक्तिको अभावका कारण कीर्तिपुर नगरपालिकामा थन्केर बसेको दमकल आज एक कार्यक्रमका बीच कीर्तिपुर नगरपालिकाका कार्यकारी प्रमुख उद्धवप्रसाद रिजालले काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई दमकलको साँचो हस्तान्तरण गर्नुभएको हो ।
दमकलको साँचो लिँदै महानगरका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले विपत्का बेला भौगोलिक र राजनीतिक आधार नहेरी सबैले सहयोग गर्नुपर्ने बताउँदै कीर्तिपुर नगरपालिकालाई आवश्यक पर्दा कामपाले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दमकल सञ्चालन गर्ने जनशक्ति विस्तार गर्दै आगामी मङ्सिरसम्ममा कामपाले दमकलको सङ्ख्या पनि बढाएर आठवटा बनाउने योजना रहेको पनि प्रमुख तामाङले जानकारी गराउनुभयो । उक्त दमकलसँगै हाल कामपामा तीनवटा दमकल सञ्चालनमा रहनेछन् ।
कीर्तिपुर नगरपालिकाका प्रमुख उद्धवप्रसाद रिजालले एउटा दमकल सञ्चालन गर्न कम्तीमा पनि १० जना जनशक्ति आवश्यक पर्ने भएको हुँदा आवश्यक पूर्वाधारको अभावले गर्दा नै कामपालाई दमकल हस्तान्तरण गर्नुपरेको बताउनुभयो ।
जुद्ध वारुणयन्त्र काठमाडौँका प्रमुख किशोरकुमार भट्टराईका अनुसार जनशक्तिको अभावका कारण दुई वर्षदेखि उक्त दमकल सञ्चालनमा आएको थिएन । लामो समयदेखि सञ्चालनमा आउन नसकेकाले उक्त दमकलको केही भागको मर्मतसम्भार पनि कामपाले गरिसकेको छ ।
यसभन्दा अघि पनि कीर्तिपुरमा दमकलको आवश्यकता पर्दा काठमाडौँ महानगरपालिकाले नै सहयोग गर्दै आएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution