धादिङमा भूकम्पप्रभावित बालबालिकाको तथ्याङ्क सार्वजनिक

पोखरान्युजडटकम, ७ असार –

गत वर्ष वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पबाट धादिङमा दुई हजार ३६२ जना बालबालिका प्रभावित हुन गएको तथ्याङ्क जिल्ला बाल कल्याण समितिद्वारा सञ्चालित आपत्कालीन परियोजनाबाट सार्वजनिक गरिएको छ ।

प्रजिअ विश्वप्रकाश सुवेदीको अध्यक्षतामा आयोजित परियोजनाको समीक्षा गोष्ठीमा परियोजना व्यवस्थापन अधिकृत प्रदीप लोहनीले सार्वजनिक गर्नुभएको तथ्याङ्कअनुसार कुल प्रभावित दुई हजार ३६२ बालबालिकामध्ये दुई हजार नौ जना बालबालिकाको अवस्था जोखिमपूर्ण रहेको छ भने परिवारबाट अलग्गिएका बालबालिकाको सङ्ख्या ३५३ रहेको छ ।

सार्वजनिक गरिएको तथ्याङ्कबाट धादिङमा ६८१ जनाले ज्यान गुमाएकोमा बालक १२३ र बालिकाको सङ्ख्या ११८ रहेको थियो भने घाइते एक हजार २१८ जनामा बालक ११२ र बालिकाको सङ्ख्या ११९ जना रहेको थियो ।

प्रस्तुत तथ्याङ्कअनुसार ३२७ जना बालबालिकालाई पारिवारिक संरक्षण सहयोग बापत रु चार हजारका दरले शैक्षिक सहयोगबापत ८५८ जनालाई रु पाँच हजारका दरले कुल रु ५५ लाख ९८ हजार सहयोग उपलब्ध गराइएको छ ।

केन्द्रीय बाल कल्याण समितिका सल्लाहकार ज्ञानेन्द्रबहादुर श्रेष्ठको उपस्थितिमा आयोजना गरिएको समीक्षा गोष्ठीमा सहभागीले एकद्वार प्रणालीअन्तर्गत यस्तो रकम सहयोग गरेको भए अझ बेस हुने थियो भन्दै सहयोग प्राप्त गर्ने बालबालिकालाई सरकारबाट उपलब्ध गराउने गरिएको जस्तै परिचयपत्र वितरण गर्नुपर्ने सुझाव पनि दिएका थिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button