हात्ती नियन्त्रणका लागि आठ करोड

पोखरा न्युज –

जंगली हात्ती नियन्त्रणका लागि रु पहिलो चौमासिकका लागि दुई करोड बजेट निकासा भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राष्ट्रिय योजना आयोगबाट हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि उक्त रकम निकासा भएको जिल्ला वन कार्यालय झापाका वन अधिकृत बोधराज सुवेदीले जानकारी दिनुभयो । हात्ती नियन्त्रणका लागि व्यवस्थित योजनासहित रु १३ करोड माग गरिए पनि रु आठ करोड आठ लाख ९० हजार स्वीकृत भएको वन अधिकृत सुवेदीले बताउनुभयो ।

जलथल, भद्रपुर, केचना, हल्दिबारी, मेचीनगरलगायत स्थानमा जंगली हात्तीले दुःख दिन थालेपछि नेपाली काँग्रेस ३ नं क्षेत्रीय समितिले सांसद कृष्णप्रसाद सिटौलामार्फत वन तथा भूसंरक्षण मन्त्रालयमा ज्ञापनपत्र पठाएको थियो । ज्ञापनपछि जिल्ला वन कार्यालयले योजनासहित बजेट माग गरेको र योजना स्वीकृत भएर पहिलो चौमासिकको रकम निकासा भएको हो ।

हात्ती नियन्त्रणका लागि जलथलदेखि बाहुनडाँगीसम्म जैविक मार्ग निर्माण तथा जलथल, चारआली र घेराबारीको जंगलमा करिब ८० किमी लामो विद्युतीय तारबार निर्माण गरिने भएको वन अधिकृत सुवेदीले जानकारी दिनुभयो । जलथल जंगल वरिपरि ५० किमी, चारआली जंगलको २० किमी र घेराबारीको १० किमी जंगल क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिने भएको छ ।

यहाँ शुक्रबार आयोजित पत्रकार भेटघाटमा काँग्रेसका नेता सांसद सिटौलाले झापाको हात्ती समस्या समाधानका लागि आएको बजेटको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले बजेटबाट जैविक मार्ग निर्माण तथा पर्यापर्यटन र कृषि पर्यटनको अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो । नेता सिटौलाले हात्तीपीडितले पाउने क्षतिपूर्ति झन्झटिलो भएकाले छिटो र छोटो प्रक्रियाबाट व्यवस्था गर्न आग्रह गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button