लामाचौर तिज महोत्सव सुरु

मेला महोत्सवलाई पर्यटनसंग जोड्न मुख्य मन्त्री गुरुङको आग्रह

डि.एन.बी, पोखरा न्यूज – २३, भदौ ।

पोखराको लामाचौरमा शनिबार देखि लामाचौर तीज महोत्सव २०७५ सुरु भएको छ । यही भदौ २७ गतेसम्म लामाचौरमा संचालन हुने उक्त महोत्सवको एक समारोहका बिच गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले उद्घाटन गर्दै यस्ता मेला र महोत्सवलाई आर्थिक विकास र समृद्धिका लागि पर्यटनसंगै जोडेर मनाउन सुझाव दिए ।

गण्डकी प्रदेश लोक साहित्यको क्षेत्रमा धनि प्रदेश भएको बताउदै मुख्य मन्त्री गुरुङले आर्थिक विकास र समृद्धिको लागि हरेक गतिविधिलाई पर्यटनसंग जोड्न अघि बढ्न आग्रह गरे । सभ्यताको उद्गम थलोको रुपमा गण्डकी प्रदेश रहेको रहेको उनको भनाई थियो । प्रदेश सरकार समक्ष जनताले अपेक्षा गर्नु स्वभाविक भएको बताउदै उनले प्रदेश सरकार ६ महिनाको वालक जस्तो अबस्थामा हाल रहेको जनाए । सडक महोत्सव, प्याराग्लाइडिङ पोखराका पहिचान गर्ने ब्राण्ड नै भएकोले यस्ता ब्राण्डहरुको पहिचान गरी अन्तराट्रिय बजारमा प्रचार प्रसार गर्नुपर्ने मुख्य मन्त्री गुरुङको भनाई छ । संघिय सरकारले अझै प्रदेशमा आवश्यक कर्मचारी नपठाएकोमा गुनासो गर्दै मुख्य मन्त्री गुरुङले केहि महिना पछि रेलको रफ्तारमा गण्डकी प्रदेशको विकास गर्ने आफ्नो लक्ष्य रहेको जनाए ।

गण्डकी प्रदेशका सांसद कृष्ण थापाले लामाचौर महोत्सवले कला संस्कृतिको साथमा विभिन्न खेलकुदको समेत विकासमा सहयोग पु¥याएको बताए । उक्त अवसरमा ईन्द्रराज्य लक्ष्मि माविबाट गत बर्ष एसइइमा उत्कृष्ट अंक ल्याउने सृष्टी लामिछाने र सघर्ष लामिछानेलाई सम्मानित गरिएको पुर्व अध्यक्ष नविन भण्डारीले बताए । पोखरा महानगरपालिका १६ का वडा अध्यक्ष जिवन प्रसाद आचार्यले तिज पर्वलाई नेपाली परम्परा अनुसार तडकभडक रहित बनाउन आग्रह गरे। नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा लामाचौर ईन्द्रराज्य लक्ष्मि माविको परिसरमा संचालन भएको महोत्सव प्रचार संयोजक धर्ममानसिंह भण्डारीले बताए । समाजका अध्यक्ष बम बहादुर गुरुङको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।

लामाचौर तीज महोत्सवको अवसरमा शनिबार देखि अन्तर बिद्यालय छात्रा भलिवल प्रतियोगिता, नर बहादुर बानिया स्मृती प्रदेश स्तरिय सितोरियो कराँते प्रतियोगिता, अन्तर समुह तीज गीत प्रतियोगिता सुरु भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । “मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्घोषका साथ आयोजना भएको महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष गुरुङले विश्वास व्यक्त गरेकाछन। उद्घाटनको दिनमा बहिरा महिला एकल नृत्य प्रतियोगिता समेत संचालन भएको महोत्सवका सांस्कृतिक संयोजक दिल बहादुर थापाले बताए । आईतबार शान्तिश्री परियार, वसन्त थापा, टेक क्षेत्री, शंकर विराही गुरुङ, कृष्ण सुवेदी,ज्योति लोहनी, इन्द्रा गुरुङ लगायतका कलाकारको प्रस्तुती रहने भएको संयोजक थापाले बताए ।

महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शव वहान सेवामा खर्च गरिने भएको पुर्व अध्यक्ष एवं आकस्मिक सेवा संयोजक संजयकुमार अधिकारीले बताए । राष्ट्रिय महिला भलिवल प्रतियोगितामा तीन विभागिय सहित ७ टिमको सहभागिता हुने भएको आयोजकले जनाएको छ । भदौं २५ गते लिग चरणका खेलहरु हुने भएका छन । महोत्सवमा बैकिङ, विभिन्न खाद्य सामाग्रि, लक्ताकपडा, खाना रेष्टुरेण्ट सहितका करिब दुई दर्जन स्टल रहेको समाजले जनाएको छ । महोत्सवमा वाल उद्यान समेत रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button