चक्लाबन्दी कार्यक्रमलाई गण्डकी प्रदेशभर विस्तार गरिने, घाचोकमा खेती शुरु

पोखरा न्युज – ११, जेठ । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले स–साना टुक्रामा विभाजित जमीनलाई एकीकरण गरी खेती गर्ने कार्यक्रमलाई विस्तार गरिने बताएका छन् ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित सिरानखेतमा भूमे बराह कृषक समूहले चक्लाबन्दी गरी खेती गर्न शुरु गरेको जमीनको आज निरीक्षण गर्दै उनले प्रदेश सरकारको नौलो कार्यक्रमको रुपमा रहेको चक्लाबन्दी कार्यक्रमलाई आगामी वर्ष प्रदेशभरि विस्तार गर्ने योजना रहेको बताए ।

उनले चालू वर्षमा पहिलोपटक सो कार्यक्रम शुरु गरिएकाले पनि घाचोकका कृषकले अझ बढी मेहेनत गरेर नमूनाका रुपमा विकास गरी बाहिरी जिल्लाबाट पनि अवलोकन गर्न आउन प्रेरित गर्ने गरी काम गर्न आग्रह गरे  । कृषकले उत्पादन गरेका वस्तुले बजार नपाउने गरेको गुनासो आउने गरेको बताउँदै मन्त्री थापाले त्यसलाई सम्बोधन गर्न र उत्पादनलाई बजारसँग जोड्नका लागि आवश्यक पर्ने स्थानमा सङ्कलन केन्द्र स्थापनाका लागि मन्त्रालयले सघाउने प्रतिबद्धता व्यक्त गरे।

समूहका अध्यक्ष मोतीलाल पोखरेलले चक्लाबन्दी गर्नको लागि रु १५ लाख खर्च भएको र सो जमीनमा वर्षमा तीन खेती लगाउने गरी तयारी गरिएको बताए । प्रदेश कृषि मन्त्रालयले चक्लाबन्दी कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेपछि घाचोकका २२ कृषकले कृषक समूह गठन गरी आवेदन गरेको र ५१ रोपनीमा चक्लाबन्दी गरी सामूहिक खेती गर्न शुरु गरिएको मन्त्रालयका भूमि स्रोत तथा नक्साङ्कन महाशाखा प्रमुख गङ्गालाल पोखरेलले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button