यस्ता छन् बागलुङका दलका चुनावी दावी

पोखरा न्यूज – ११ मंसिर ।  बागलुङ २ (ख) मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही र नेपाली काँग्रेसका उम्मेदवार जीतबहादुर शेरचनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

सत्तारुढ नेकपाको आकलन सही ठहरिएमा वाम गठबन्धनले चार हजार बढीको मतान्तरसहित उपचुनाव जित्नेछ । गत चुनावमा वाम गठबन्धनसँग तीन हजार २ सय ६० मतले पछि पर्दै काँग्रेसले पराजय व्यहोरेको थियो ।

नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाका अनुसार यसपालि वाम गठबन्धनको मत एक हजार बढ्ने अनुमान छ । “हाम्रो जित निश्चित छ, विगतको मत जोगाए मात्र पुग्छ”, उनले भने  । पार्टी एकता, सङ्गठन विस्तार, सरकार र जनप्रतिनिधिले आर्जेको लोकप्रियताको जगमा गठबन्धनको पक्षमा परिणाम आउने अध्यक्ष सापकोटाको जिकिर छ ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाही चुनावी मैदानमा छन। विसं २०७४ को चुनावमा पनि राजमोकै टेकबहादुर घर्ती विजयी भएका थिए । घर्तीको गत वर्ष निधन भएपछि रिक्त प्रदेशसभा सदस्यमा उपचुनाव हुन लागेको हो ।

घर्तीले ११ हजार ८ सय ८४ मतसहित काँग्रेसका उम्मेदवार शेरचनलाई पराजित गरेका थिए  । उपचुनावमा समेत उम्मेदवार रहेका शेरचनले अघिल्लो चुनावमा आठ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए  । अहिले पनि मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र काँग्रेसबीच नै हुने निश्चित छ ।

अघिल्लो चुनाव जितेको वाम गठबन्धन मतान्तर बढाउने र काँग्रेस नतिजा उल्टाउने दाउमा छ । काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापा उपचुनाव आफ्नो पार्टीले जित्नेमा ढुक्क छन । “विगतका कमीकमजोरी सुधार्दै पार्टी एक ढिक्का भएर चुनावमा होमिएको छ”, उनले भने , “२२ वटै वडामा विगतको भन्दा डेढ/दुई सयले हाम्रो मत बढ्छ ।”

वाम गठबन्धनभित्रको असन्तुष्टि, विगतको चुनावमा गरेका प्रतिबद्धता पूरा नहुनुजस्ता कारणले काँग्रेसको पक्षमा जनमत बढ्ने उनको बुझाइ छ । सङ्घीयताको पक्षधर नेकपा र विरोधी राजमोबीचको चुनावी तालमेल पनि अस्वाभाविक रहेको सभापति थापाको आरोप छ ।

काँग्रेसले गत चुनावमा त्यस क्षेत्रका तीन स्थानीय तहमध्ये निसीखोला गाउँपालिकाबाट समानुपातिकतर्फ दुई हजार ९ सय ८ मत ल्याएको थियो । त्यस्तै तमानखोला गाउँपालिकाबाट दुई हजार १ सय ६८ र ढोरपाटन नगरपालिकाबाट दुई हजार ३४२ मत पाएको थियो । काँग्रेसका उम्मेदवार शेरचनले प्रत्यक्षतर्फ एक हजार २ सय  मत बढी ल्याएका थिए  ।

यस्तै वाम गठबन्धनले समानुपातिकतर्फ ढोरपाटन नगरपालिकाबाट पाँच हजार ६ सय ३६, निसीखोला गाउँपालिकाबाट चार हजार २ सय ७ र तमानखोला गाउँपालिकाबाट एक हजार ८ सय २४ मत पाएको थियो । गठबन्धनका उम्मेदवार घर्तीले प्रत्यक्षतर्फ २ सय १७ मत बढी ल्याएका थिए  ।

स्थानीय तहको चुनावमा भने ढोरपाटन नगरपालिकामा तत्कालीन नेकपा (एमाले) र निसीखोला तथा तमानखोला गाउँपालिकामा काँग्रेसले जितेको थियो । वाम दल एक्लाएक्लै चुनाव लडेपछि स्थानीय तहको चुनाव काङ्ग्रेसका लागि सहज थियो तर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आइपुग्दा वाम दलले चुनावी ताममेल गरे । एमाले, नेकपा (माओवादी केन्द्र) र राजमोबीच गठबन्धन बन्यो ।

विसं २०७० को दोस्रो संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको काङग्रेसले वाम गठबन्धनकै कारण विसं २०७४ को चुनावमा हार व्यहोर्यो  । काङ्ग्रेससामु वाम गठबन्धनको चुनौती यस उपचुनावमा पनि दोहोरियो । काङ्ग्रेसबाट अघिल्लो पटक पराजित शेरचन नै फेरि चुनावी मैदानमा छन ।

उपचुनावको दौडमा वाम गठबन्धन र काँग्रेसपछि तेस्रो शक्तिका रुपमा समाजवादी पार्टी देखिएको छ । समाजवादीले युवा उम्मेदवार अशोककुमार विकलाई अघि सारेको छ । अघिल्लो चुनावमा ५३ मत ल्याएको नयाँ शक्ति पार्टीसँगको एकतापछि बनेको समाजवादी पार्टीले उपचुनावमा मत बढाउने देखिन्छ ।

मतदाताले वैकल्पिक शक्तिका रुपमा आफ्नो पार्टीलाई छान्ने समाजवादी पार्टीका जिल्ला अध्यक्ष चित्र सापकोटाले बताउनुभयो । अरु पार्टीले जस्तो अव्यावहारिक र महत्वाकाङ्क्षी चुनावी आश्वासन जनतालाई नबाँडिएको उनको भनाइ छ । अन्य साना दल पनि जितको लक्ष्यसहित चुनावी मैदानमा छन् । गत चुनावमा ३ सय  मत प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश कुँवर चुनावी मैदानमा छन ।

राप्रपाले राष्ट्रियता, धार्मिक स्वतन्त्रता, संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायत मुद्दा उठाएको छ । राप्रपाका उम्मेदवार कुँवर यसअघि काँग्रेसबाट तत्कालीन राजकुत गाविसका वडाध्यक्षमा निर्वाचित भएका थिए  । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा छन ।

स्वतन्त्र उम्मेदवार घर्तीले भने समयाभावमा उम्मेदवारी फिर्ता लिन नसके पनि उनले वाम गठबन्धनका उम्मेदवार शाहीलाई सघाउने सार्वजनिक घोषणा गरेका छन  । नेकपाका स्थानीय नेतासमेत रहेका घर्तीले वाम गठबन्धनप्रति असन्तुष्ट रहँदै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उनी अहिले वाम गठबन्धकै चुनाव प्रचारमा व्यस्त छन ।

के भन्छन् उम्मेदवार

वाम गठबन्धनका तर्फबाट राजमोका उम्मेदवार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताए । “अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो सङ्गठन पनि विस्तार भएको छ”, उनले भने , “सजिलै चुनाव जितिनेमा म ढुक्क छु ।” महत्वकाँक्षी योजना भन्दा पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्ने गरी अगाडि बढ्ने उनको योजना छ ।

काङ्ग्रेसका उम्मेदवार शेरचन अघिल्लो चुनावपछि जनतामाझ घुलमिल भएको, सुख–दुःखमा सघाएको, सङ्गठन बनाएको आदि कारणले चुनाव जित्नेमा विश्वस्त छन । “गएको चुनावमा केही मतको अन्तरले हारेपनि जनताको काम र सेवा गर्न छोडिन”, उनले भने , “अहिले परिस्थिति फरक छ, हामी चुनाव जित्छौँ ।” उनले पहिले चुनाव जितेका दल र उम्मदेवारले जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको आरोपसमेत लगाए  । पहिले चुनाव हारेका कारण आफूले सद्भावको मत पनि बटुल्ने शेरचनको भनाइ छ ।

सबै खाले विभेदको अन्त्य र समतामूलक समाज निर्माणको उद्देश्य पूरा गर्न आफू उम्मेदवार बनेको समाजवादी पार्टीका उम्मेदवार विकको भनाइ छ । गाउँमै बसेर जनताको दुःख, सुखमा सघाएकाले चुनाव जित्ने उनको जिकिर छ । “राजनीतिक, सामाजिक अभियानमा मेरो भूमिका छ, पछाडि पारिएका उत्पीडित वर्ग, समुदायको हितमा मैले काम गरेको छु”, विकले भने , “म युवा पनि भएकाले सबैको साथ पाउनेमा ढुक्क छु ।”

को हुन् शाही, शेरचन र विक

राजमोका उम्मेदवार शाही पार्टीका जिल्ला सदस्य हुनुहुन्छ । निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय बहेका हुन्  । उनी राजमोका पाका र विश्वासिला नेता मानिन्छन । यस्तै नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका शेरचन विद्यार्थी कालदेखि नै काङ्ग्रेसको राजनीतिमा आवद्ध छन ।

ढोरपाटन नगरपालिका–१ का शेरचन नेपाल विद्यार्थी संघको तर्फबाट विसं २०६२ सालमा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियू सभापतिसमेत भएका थिए । काङ्ग्रेसजनमाझ शेरचन स्पष्ट वक्ता र विकासप्रेमी नेताका रुपमा चिनिन्छन । शेरचनलाई नेपाली काङ्ग्रेसले दोस्रोपटक उम्मेदवार बन्ने अवसर दिएको हो ।

समाजवादीका उम्मेदवार विक पार्टीको गण्डकी प्रदेश सदस्य हुनुहुन्छ । समाजवादीमा प्रवेश गर्नुअघि उनी नेपाली काङ्ग्रेसमा आवद्ध थिए । गएको स्थानीय तहको चुनावमा काङ्ग्रेसको तर्फबाट ढोरपाटन नगरपालिका–१ को वडाध्यक्षमा उम्मेदवार बनेका थिए । उनले दलित समुदायको हक, हितमासमेत काम गर्दै आएका छन  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button