पोखरा न्यूज । नवगायक रचित पौडेल र चर्चित गायिका सर्मिला गुरुङको आवाजमा ‘हवाईजहाज कराउँदा’ बोलको गीत सार्वजनिक भएको छ । रचित पौडेलकै शब्द संकलन रहेको गीतमा संगीत रमेश परियारले भरेका छन् ।
तारानाथ आचार्यले एरेन्ज गरेको गीतलाई रक्षा म्युजिक प्रालिले बजारमा ल्याएको हो । गीत मार्फत दर्शकको माया पाउन थालेकोमा पोखराका रचित पौडेल मख्ख छन् ।
गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । जीवन खड्का र एलिना ठकुरीको अभिनय भिडयोमा हेर्न सकिन्छ । यसका अलावा गीतको कोरसमा अभिनय गरेका कलाकारले भिडियोलाई आर्कषक बनाउन सघाएका छन् ।
स्मृति तिमिल्सिना गुरुआमाको कोरियोग्राफि र निर्देशनमा भिडियो तयार भएको हो । परदेशिएका मायालुबीचको कथा गीतमा रहेको छ । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई प्रकाश धमालले सम्पादन गरेका हुन् ।
औपचारिक रुपमा पहिलो लोकदोहोरी गीतको भिडियो सार्वजनिक गरेका रचितले यो गीत मार्फत नवगायकका रुपमा आफु स्थापित हुने विश्वास लिएका छन् ।
यसअघि उनले अडियो गीत ‘छल गर्यो छायाँले’ सार्वजनिक गरेका थिए । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका कार्यसमिति सदस्य हुन् ।