आज गोरखा भूकम्पको नवौं स्मृति दिवस

पोखरा । नौ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको नवौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

वि.सं. २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७दशमलव६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार नौ सय ७९ जनाको निधन भएको थियो भने २२ हजार तीन सय नौ घाइते भएका थिए ।

भूकम्पले करिब १० लाख निजी आवास, सात हजार पाँच सय ५३ विद्यालय, ४९ हजार छ सय ८१ कक्षाकोठा, पाँच ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, छ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो ।

यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार दुई सय १२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको तथ्यांक प्राधिकरणसँग छ ।

गोरखा भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन् ।

नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिँदै राष्ट्रपतिले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताए ।

“भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ”, राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन्, “नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।”

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु उत्तिकै जरूरी रहेको बताए । भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिई पूर्वतयारी तथा जोखिमको चुस्त व्यवस्थापन भएमात्र भूकम्पको सामना गर्न सकिने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउनु हुनेप्रति राष्ट्रपतिले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

यस्तै, भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने पनि उनले कामना गरेका छन् ।

नेपाल सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको छ ।

यसरी पुनःनिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिकोसमेत प्रयोग गरिएकामा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button