विश्वकप टि-ट्वान्टीको उपाधि अष्ट्रेलियालाई, भारत फराकिलो अन्तरले पराजित

पोखरा न्यूज। महिला विश्वकप टिट्वान्टी प्रतियोगिताको फाइनलमा भारतलाई ८५ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको छ ।

अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीले ८६ हजार १ सय ७४ दर्शक माझ टस जितेर ब्याटिङ रोज्यो । टसको निर्णय सही सावित गर्दै अस्ट्रेलियाका ओपनर ब्याट्सउमनद्वय एलिसा हेली र बेथ मुनीले शानदार सुरुआत दिलाए ।

पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गर्ने क्रममा हेलीले ७५ तथा बेथले अविजित ७८ रनको योगदान दिइन् ।  अस्ट्रेलियाकी कप्तान मेग ल्यानिङले पनि १६ रन बनाउँदा टोलीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रनको विशाल योगफल जोड्न सफल भयो । भारतकी दिप्ती शर्माले दुई विकेट लिइन् ।

प्रतिउत्तरमा १ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको भारतले कमजोर ब्याटिङ गर्दै १९.१ ओभरमै सबै विकेट गुमाएर ९९ रन मात्र जोड्न सक्यो । टोलीका लागि दिप्ती शर्माको ३३ रन नै सर्वाधिक रह्यो । भारतलाई सस्तैमा समेट्ने क्रममा मेगन स्कटले ४ विकेट लिइन् भने जेस जोनासनको भागमा २ विकेट रह्यो ।

यससँगै अस्ट्रेलियाले आफ्नो पाँचौ विश्वकप उपाधि जितेको छ ।

सम्बन्धित न्यूज

Back to top button