१९ हजार परिवारलाई यसरी राहत वितरण गर्दै पोखरा महानगर

पोखरा । कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण शुरु गरेको छ । पोखरा महानगरपालिकाले ३३ वटै वडामा गरी १९ हजार ४ सय ४० परिवारलाई राहत वितरणको व्यवस्था मिलाएको हो

गत चैत १९ गते बसेको ३७ औं नगर कार्यपालिका बैठकले राहत विरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको र सोही अनुसार लाभग्रही छनोट गरी राहत वितरण गर्न शुरु गरिएको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार ३३ वटै वडाबाट लाभग्राही छनोट गरी वडा कार्यालयहरु मार्फत् राहत वितरणको व्यवस्था मिलाइएको हो ।

राहत वितरणसँगसँगै कोरोना संक्रमण फैलिन सक्ने भएकोले यसतर्फ सजग र सतर्क रही व्यवस्थित रुपमा वितरणको व्यवस्था मिलाउन सबै वडा कार्यालयहरु आग्रह गर्दै जिसीले राहत पाउने लाभग्राहीलाई पनि संयमित र अनुशासित रुपमा भौतिक दूरी कायम गरी राहत लिन आग्रह गरेका छन् ।

लाभग्राही छनोट मापदण्ड अनुसार कुनैपनि आयको स्रोत नभएका, दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्ने परिवार तथा अन्य कसैबाट पनि उचित स्याहार सुसार नपाएका, (वृद्ध, असाहय, अशक्त, गर्भवती महिला, दीर्घरोगी, टुहुरा बालबालिका र फरक क्षमता भएका व्यक्ति) लाभग्राहीको रुपमा छनोट गरिएको छ । त्यसैगरी सामाजिक सुरक्ष भत्ता प्राप्त नगरेका, लकडाउनका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी, धार्मिकस्थलमा भेटी/चन्दा संकलन गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई लाभग्राहीको रुपमा छनोट गरिने मापदण्ड महानगरले बनाएको छ ।

महानगरले ४ जना वा सो भन्दा बढी संख्या भएको परिवारलाई फुल प्याकेज र ३ जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराउने छ । फूल प्याकेजमा २५ केजी चामल, १ केजी नुन, १ लिटर तेल, २ केजी रातो दाल, एक केजी कालो दाल, केरा र चना एक÷एक केजी रहेको छ भने आधा प्याकेजमा साढे १२ केजी चामल, १ केजी नुन, आधा लिटर तेल, रातो दाल १ केजी, कालो दाल आधा केजी र चना आधा केजी रहेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । पौडेलका अनुसार ११ हजार परिवारलाई फूल र ८ हजार ४ सय ४० परिवारलाई आधा प्याकेज राहत वितरण गरिने छ । राहत वितरणको लागि फूल र आधा प्याकेजको छुट्टा छुट्टै कुपन बनाएर वडामा पठाइएको छ ।

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणज्यि महासंघ गण्डकी, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्शको समन्वयमा पोखराका विभिन्न खाद्य सप्लायर्सहरुले राहत सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको पौडेलले बताए । अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतलाई राहत उपलब्ध गराउन महानगरपालिकाले २ करोड ४८ लाख ५० हजारको राहत कोष बनाएको छ भने विभिन्न संघ संस्था र व्यक्तिले अहिलेसम्म १५ लाख सहयोग गरेका छन् । गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ महानगरको कोषमा दिएको छ भने सहयोग आउने क्रम जारी रहेको छ ।

पोखरा महानगरपालिकाले एकद्धार प्रणालीबाट व्यवस्थित रुपमा राहत वितरणको व्यवस्था मिलाएकोले आफूखुसी राहत वितरण नगर्न अनुरोध गर्दै  सहयोग गर्न इच्छुक महानुभावलाई महानगरको विपद् व्यवस्थापन कोष, राष्ट्रिय वाणिज्य बैकको खाता नं. ३०२०३०५०४९४०६ मा सहयोग रकम जम्मा गर्न  आग्रह गरेको ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button