
अनुप प्रकाश पाैडेल । भूमि सम्बन्धी समस्या समाधान आयोगले पहिलो चरणमा नेपाल भर जग्गा नभएका सुकुम्बासीलाई लालपुर्जा दिने योजना बनाएको जनाएकाे छ । आयोगका अनुसार आगामी असारभित्र पहिलो चरणमा २ लाख सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिने छ ।
पोखरामा राष्ट्रिय भूमि अधिकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै आयोगका सदस्य तथा प्रवक्ता भीम कार्कीले सो जानकारी दिनु भएको हो । “यदी कोही सुकुम्बासी हो भने सबैभन्दा पहिला हामी वहाँलाई व्यवस्थापन गर्छाै ।” कार्कीले भन्नुभयो, “पहिलो चरणमा झण्डै दुई लाख सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गर्ने योजना बनाएका छौं ।” नेपालको संविधानमा भएको व्यवस्था अनुसार वास्तविक भूमिहिनलाई व्यस्थापन गर्ने म्याण्डेट आयोगले पाएको छ ।
स्थानीय पालिकाले सुकुम्बासी भनेर प्रमाणित गरी सकेपछि आयोगले लालपुर्जा वितरण गर्ने आयोगको कार्यविधि छ । भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि नेपाल सरकारले आयोग गठन गरेको हो । आयोगको समयावधि ३ वर्षको छ ।
पहिलो चरणमा सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान गर्ने काम भइरहेको पनि कार्कीले जानकारी दिनुभएको छ । कार्कीका अनुसार स्थानीय पालिकाहरुसँग सम्झौता गरी त्यससम्बन्धी विवरण संकलन गर्ने काम जारी छ । विवरण संकलनका लागि सहयोग गर्न उहाँले सबैसँग आग्रह पनि गर्नु भएको छ । “पहिलो चरणमा स्थानीय पालिकाहरुसँग सम्झौता गरेका छौं । स्थानीय पालिकाहरुले आफ्नो क्षेत्रमा रहेकाहरुको विवरण पठाए पछि अर्काे चरणमा व्यवस्थापनको काम गर्छाै” उहाँले भन्नु भयो ।
विवरणका आधारमा समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ । विगतका आयोगहरुले जस्तो निवेदन दिएको भरमा लालपुर्जा नबाड्ने भन्दै सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुलाई वर्गीकरण गरिने उहाँले जानकारी दिनु भयो । कार्यक्रममा पोखरा महानगर पालिका वडा १६ का अध्यक्ष जीवन आचार्य, राष्ट्रिय भूमि अधिकार मञ्च कास्की अध्यक्ष प्रेमबहादुर गुरुङ, कर्ण गुरुङलगायतले मन्तव्य राख्नुभएकाे थियाे ।






सामुदायिक वनभित्र बसेका हरुकाे लागि वडालाई अधिकार दिनु भनेकाे प्रदेश सरकारलाई चुनाैति हुनसक्छ यसतर्फ ध्यानजाअाेस ।