पोखरा न्यूज । रंगमञ्चबाट उदाएका कलाकार हुनुहुन्छ नवराज गिरी । गिरीले २०६१ सालमा ‘थाङ्ला’ नाटकमा अभिनय गर्नुभयो ।
सोही नाटक पश्चात उहाँलाई धेरैले चिने । उहाँले ‘थाङ्ला’ मा अभिनय गर्नुभन्दा पहिला नै ५, ६ वटा सडक नाटकमा अभिनय गरिसक्नुभएको थियो । हुनत उहाँको अभिनयको ‘टर्निङ पोइन्ट’ टेलिचलचित्र ‘दलन’मा अभिनय गरेपछि भएको हो । दलनमा बाबुसाहेबको भूमिकामा अभिनय गरेपछि उहाँ धेरै माझ चिनिनु भएको थियो ।
सोही समयमा जापान हानीने निर्णयमा पुगेपछि अफर आउँदा आउँदै अन्य चलचित्र र टेलिचलचित्रमा काम गर्न उहाँले सक्नुभएन । ११ वर्ष जापान बसेर नेपाल फर्कनुभएको गिरी अहिले कलाकारिता क्षेत्रमा पुनः सक्रिय हुनुभएको छ । जन्मठाउँ पोखरामा नै बसेर रंगमञ्च, नेपाली फिल्म, टेलिफिल्म, छोटा फिल्म र म्युजिक भिडियोमा अभिनय गर्दै उहाँ सक्रिय बन्नुभएको छ । उहाँसँग यसपाली नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित केही प्रश्न गरेका छौँ ।
कोरोना कहरको समयमा हल बाहेकका माध्यमबाट फिल्म हेर्नु भएको छ कि छैन ?
किन नहेर्नु हेरे । युट्युबमा रिलिज भएका फिल्म सबै हेरेको छुँ । किनकी म फिल्म प्रेमी हुँ । हुनत यो समयमा केही छोटा फिल्म, केही भिडियो र केही सिरियलमा काम गरे । ‘सेडुयल विजी’ नै थियो । यती हुँदाहुँदै पनि फिल्म भने हेरे ।
हलमा र घरमा फिल्म हेर्दाको अनुभव नि ?
हलमानै रमाइलो हुन्छ । मैले कक्षा ४ पढ्दाबाट फिल्म हेर्न थालेको हुँ । पोखराको दीपज्योति हल र पूर्णिमा हल मलाई मनपर्ने हल थिए । घर नजिक भएर समेत होला । त्यतिबेला प्रर्दशन हुने कुनै फिल्म छुटेन होला जस्तो लाग्छ । नेपाली र हिन्दी दुबै फिल्म हेर्थे ।
त्यसरी फिल्म हेर्दाका केही रमाइला अनुभव ?
स्कूलको झोला कोदाबारीमा लुकाएर फिल्म हेरिन्थ्यो । स्कूल छुट्ने बेलामा त्यहीँ झोला बोकेर घर आएको छु । धेरै पटक यस्तो भयो । फिल्म हेर्न ममीको पैसा पनि चोरेको छु। फिल्म रिलिज हुने दिन कहिले आउँला भनेर कुरेर बसिन्थ्यो ।
हलमा हेरेको पहिलो अनि अन्तिम नेपाली फिल्म कुन हो ?
मैले हलमा हेरेको पहिलो नेपाली फिल्म ‘बेहुली’ हो दीपज्योति हलमा हेरेको । फुपुसँग नेपाली फिल्म ‘सन्तान’ हेरको याद अझै ताजै छ । हिन्दी फिल्म ‘कयामत से कयामत तक’ ७ पटकसम्म दीपज्योति हलमा हेरेको थिए । हलमा हेरको अन्तिम नेपाली फिल्म ‘आमा’ हो । जुन लकडाउन हुनुभन्दा अगाडि हेरेको थिए ।
तपाईंलाई मनपर्ने नेपाली कलाकार ?
मलाई बाँसुरी फिल्मको हिरो प्रकाश श्रेष्ठ र गौरी मल्लको अभिनय एकदमै मनपर्छ, पछि साईनो र कुसुमेरुमाल फिल्म हेरेपछि भुवन केसीको अभिनयले समेत मेरो मन जित्यो ।
पहिलाका नेपाली फिल्म र अहिलेका नेपाली फिल्म केही फरक पाउनु भएको छ ?
पहिलाका फिल्म यर्थाथवादी थिए, कथा नै ओजनदार हुन्थे । आजकाल फितलो हुन्छ । मेकिङमा सुधार आएपनि फिल्म पहिलाको जस्तो उत्कृष्ट बनिरहेको पाइदैन । सोही कारण अहिलेपनि पुराना फिल्म र त्यसमा समाबेश गीतलाई मिस गर्छु ।
फिल्मप्रतिको आकर्षण बढाउन के हर्नुपर्ला ?
फिल्म मार्गदर्शनको पाटो पनि हो, व्यापार हुन जरुरी छ आम्दानी बिना फिल्म सफल हुँदैन । फिल्म क्षेत्रको अवस्था सुर्धान सरकारले सहयोग गर्नुपर्छ । सरकार र फिल्मकर्मी मिलेर अगाडि बढ्नुपर्छ । फिल्म भनेको मनोरञ्जन मात्र नभएर समाज र देश परिवर्तन गर्न सक्ने माध्यम हो । फिल्मकर्मी र सरकार दुवैले यसलाई बुझ्दै अगाडि बढ्ने हो भने आर्कषण बढ्छ ।
फिल्ममा अभिनय गर्ने अवसर पाइरहनुभएको छ ?
सानोछदाँ फिल्ममा अभिनय गरौँ भन्ने रहर त हुन्थ्यो । तर कसरी अगाडि बढ्ने थाहा थिएन । पछि फिल्म क्षेत्रका साथीसँग परिचित हुँदै गए । भिडियो फिल्म ‘रोजाई’ मा अभिनय गर्ने अवसर पाए । जापानमा रहँदा ‘साकुरा फेरि फूल्छ’ फिल्ममा अभिनय गरे । नेपाल फर्किएपछि पानी फोटो, चचहुई, जात्रैजात्रा आदि फिल्ममा काम गरे । चिनजान तथा रंगमञ्चमा गरेको अभिनयकै कारण अवसर पाउने गरेको हुँ । दिइएको जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गरेकै कारण होला धेरैले ‘रिफर’ गर्नुहुन्छ ।
कलाकारिता क्षेत्रबाट पाएको कुरा ?
मुख्यत दर्शकको माया हो । अर्को कुरा म अहिले फिल्म आर्टिस्ट एशोसिएसन नेपालको सदस्य बनेर आधिकारीका कलाकार भएको छुँ । अब कलाकारिता क्षेत्रमा अगाडि बढ्न अझै सहजता होला भन्ने अपेक्षा गरेको छु ।
हालसम्म कतिवटा फिल्म हेर्नुभयो याद छ ?
संख्या गनेको छैन । तर अधिकांश नेपाली चलचित्र हेरेको छु । हिन्दी चलचित्र समेत त्यतिकै हेरेको छु ।