प्रदेशस्तरीय सामुहिक लोकनृत्य र एकल गायन प्रतियोगिता हुने

पोखरा न्यूज । नयाँ प्रतिभाको खोजी गर्न गण्डकी प्रदेशस्तरीय सामुहिक लोकनृत्य तथा एकल गायन प्रतियोगिताको आयोजना गरिएको छ । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनल आगामी चैत्र ७ गते शनिबार उद्योग वाणिज्य संघको हल गैह्रापाटन पोखरामा हुने प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले पोखरा न्युजलाई जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा कार्यक्रम आयोजना भएको हो । ‘नयाँ प्रतिभाको खोजी गर्नको लागि यो प्रतियोगीताको आयोजना गरिएको हो, यो गण्डकी प्रदेशस्तरीय हुनेछ’ अध्यक्ष ढकालले भन्नुभयो । यो सप्तरंगी सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको दोश्रो श्रृखलाको नृत्य प्रतियोगिता हो । संस्थाले यसभन्दा अगाडि पनि आर्कषक पुरस्कारसहित खुल्ला नृत्य प्रतियोगिता सम्पन्न गरेको थियो ।

गण्डकी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्वहोस् भन्ने उद्देश्यले सबै जिल्लामा खबर गरिएको अध्यक्ष ढकालको भनाई छ । सामुहिक नृत्यतर्फ फाइनलको लागि बढीमा १२ वटा समूहका लोक नृत्य समावेश गरिनेछ । सामुहिक नृत्यमा भाग लिने समूहमा कम्तिमा ४ जना र बढीमा १५ जना सम्म रहन पाउनेछन् । नृत्य प्रतियोगितामा भाग लिन इच्छुक समूहले चैत्र १ गतेसम्म आफ्नो तयारी गरेको नृत्य भिडियो मार्फत पठाउनपर्नेछ । यसरी प्राप्त भिडियोबाट एक जिल्लाबाट कम्तिमा एक समूह छान्ने आयोजक संस्थाले जनाएको छ ।

कुनै जिल्लाबाट सहभागिता भएन भने बढी सहभागी भएका जिल्लाबाट समूह छान्न सकिनेछ । तर १२ समूह भन्दा बढी टिम भने छनोट गरिनेछैन । यो खुल्ला प्रतियोगिता भएकोले जुनसुकै उमेर समूहका नृत्य प्रतिभा देखाउन खोज्नेले भाग लिन सक्नेछन् ।
सामुहिक लोकनृत्य प्रतियोगितालाई भव्य बनाउन गोरे गुरुङको संयोजकत्वमा उपसमिति चयन गरिएको छ । जसको सह–संयोजकमा जसु गुरुङ रहनुभएको छ । यसैगरी सदस्यहरुमा खिमकुमार गुरुङ, कृष्णप्रसाद भन्डारी, गजेन्द्र गुरुङ, लोकबहादुर गुरुङ, पशुपति गुप्ता, जुना क्षेत्री, सुकु हिराचन र शारदा भट्टराई रहनु भएको छ ।

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका संस्थाका अध्यक्ष ढकालले लोकनृत्यको संरक्षणका लागि सामुहिक लोकनृत्य प्रतियोगिता गर्न लागिएको बताउनुभयो । उपसमिति संयोजक तथा अनुशीलन कला पाठशालाका सञ्चालक गोरे गुरुङले प्रतियोगितामा मनाङ, मुस्ताङसहित गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाहरुको सँस्कृतिमूलक लोक नृत्य एकै मञ्चमा देखाइने हुँदा यो ऐतिहासिक कार्यक्रम भएको दावी गर्नुभयो ।

उप समितिको आन्तरिक छनौटबाट छानिएका समूहले सिधै फाइनल कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरिएको सह–संयोजक तथा स्टार्स स्टुडियो पोखराकी सञ्चालक जसु गुरुङले बताउनुभयो ।नृत्य तर्फको विजेता टिमले एक लाख रुपैयाँ नगदको साथमा प्रमाण पत्र र ट्रफी हात पार्नेछ । यसैगरी द्वितीय हुनेले पचास हजार र तृतीय हुने टिमले पच्चीस हजार रुपैयाँको साथमा प्रमाणपत्र र ट्रफी पाउनेछन् ।

यसैगरी खुल्ला एकल गायनतर्फ कम्तिमा १० जनालाई फाइनलमा प्रवेश गराइने आयोजकको भनाई छ । एकल गायनको लागि पहिलो चरणको अडिसन भइसकेको छ । बागलुङ जिल्लामा भएको अडिसनमा गण्डकी प्रदेश अन्तर्गतका बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, गोर्खा आदि जिल्लाका गरी ३३ जना गायक गायिकको सहभागिता थियो ।

अडिसनबाट अरुण सुनार पर्वत, अमन सुबेदी बागलुङ, हेमलाल बि.क.कास्की, कुसुम पुन मगर बागलुङ, समित परियार बागलुङ, हरिकला थापा बागलुङ, हेमबहादुर परियार बागलुङ, शान्त सुनार बागलुङ, सीम्रिका घिमिरे बागलुङ, निरुता बिश्वकर्मा पर्वत, कृति थापा क्षेत्री बागलुङ, अस्मिता बि.क.पर्वत गरी कुल १२ जना दोस्रो चरणको लागि छनोट भएका छन् । अडिसनको निर्णायकमा संगीतकार नवराज बराल, गीतकार सुमन श्रापीत, गायिका लक्ष्मी गिरी र गायक पशुपति गुप्ता रहनुभएको थियो । दोस्रो चरणको छनोट फागुन २९ गते पोखरामा रहेको न्यूरोड रोधी क्लबको सभाहलमा हुनेछ ।

पहिलो र दोस्रो चरणको अडिसनबाट छानिएका बिच प्रतिष्पर्धा गराई उत्कृष्ट १० छनोट गरिने गायन प्रतियोगिता उपसमितिका संयोजक नवराज बराल बताउनुभयो । खुल्ला गायन प्रतियोगिताको सह–संयोजकमा सुमन श्रापीत रहनुभएको छ । यसैगरी सदस्यमा लक्ष्मी गिरी, पिङ्गला भट्ट, श्यामलाल श्रेष्ठ, पृथ्वी भुजेल, मन सुरागम, सुनिल बराल, रामजी पौडेल, सूर्य घतानी, सानु जोजिजू हुनुहुन्छ ।

गायन तर्फ उपाधि जित्नेले पचास हजार रुपैयाँ सहित प्रमाण पत्र र ट्रफी हात पार्नेछ । यसैगरी द्वितीयलाई पच्चीस हजार, तृतीयलाई पन्ध्र हजार र सान्त्वनालाई सात हजार पाँच सय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिनेछ ।नव प्रतिभाहरुलाई मञ्च प्रदान गर्न सामुहिक लोकनृत्य र एकल खुल्ला गायन प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका महासचिव मनकुमार श्रेष्ठले दावी गर्नुभयो ।
त्यसोत सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपाल २०६४ सालमा दर्ता भएको संस्था हो । यसले कलाकार उपचार कोष मुद्धती खाता सञ्चालन गरेको छ । त्यसबाट विरामी हुँदा आर्थिक अभावका कारण उपचार गर्न असमर्थ हुने कलाकारलाई मुद्धती कोषबाट आएको व्याजबाट सहयोग गरिने गरिएको छ । प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य यही कोषको रकमलाई बढाउने रहेको अध्यक्ष ढकालले खुलाउनुभयो । संस्था सधैं साहित्य कला र संगीतको संरक्षणमा अगाडि बढ्ने उहाँको भनाई छ ।

सप्तरंगी सांस्कृतिक प्रतिष्ठान स्थापना भए लगत्तै हरिदेवी कोइराला एकल साँझ कार्यक्रम गरिएको थियो । प्रतिष्ठान मार्फत आयोजना गरिएका दुर्गाबहादुर शाह बाबाको एकल कविता वाचन, पदमराज ढकाल एकल साँझ, खिम गुरुङको एकल साँझलेसमेत संस्थालाई परिचित गराउन सघाएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button