पोखराका हलमा दर्शक सहभागिता न्यून

बन्द हुँदा भन्दा खुल्दा बढी घाटा

पोखरा न्यूज । ५० प्रतिशत अकुपेन्सीमा सञ्चालनमा आएका पोखराका हलमा दर्शक सहभागिता ज्यादै न्यून रहेको छ । फिल्म हेर्न उपस्थित दर्शकले काटेको टिकटबाट हुने आम्दानीले खर्च धान्न हलले सकेका छैन । हल बन्द हुँदा भन्दा हल खुल्दा बढी घाटा भएको हल सञ्चालकको अनुभव छ ।

मिड टाउन सिनेमाज पोखराका व्यवस्थापक निकेश द्वाले राम्रो व्यानरको फिल्म रिलिज हुन नसक्दा हलमा गएर फिल्म हेर्ने दर्शकको संख्या ज्यादै न्यून रहेको बताउनुहुन्छ । ठूलो बजेट तथा राम्रो व्यानरका फिल्म रिलिज भए दर्शक हलतर्फ आर्कषित हुने उहाँको आशा छ ।

‘मुख्य कुरा फिल्म नै छैन, राम्रो व्यानरका नयाँ फिल्म आएभने दर्शक आउनुहुन्छ भन्ने आशा छ । किनकी यतिबेला चलेको व्यानरमा बनेका फिल्म आएका छैनन्’ उहाँले भन्नुभयो । नेपालका मल्टिप्लेक्स हल सञ्चालकहरुले फिल्मको वितरकसँग ठूलो बजेट तथा राम्रो व्यानरका फिल्म रिलिज गर्नु पर्याे भनेर अनुरोध गरेको उहाँले बताउनुभयो ।

सरकारको तर्फबाट ५० प्रतिशत अकुपेन्सी मात्र फिल्म प्रदर्शन गर्नु भनेकोले वितरकहरु जोखिम लिन तयार नभएको उहाँको बुझाई छ । ‘टिकट बेच्ने भनेका हप्ताको तीन दिन शुक्रबार, शनिबार र अर्को छुट हुने दिन हो, आधा क्यापासिटी भएकोले वितरकले आट्न सक्नु भएको छैन, राम्रो व्यानर र ठूलो बजेटको फिल्म नआएको कारण समस्या भएको हो यसको लागि हल पूरा क्षमतामा चलाउन सक्ने हुनुपर्छ’ पोखरा न्यूजसँग कुरा गर्दै उहाँले भन्नुभयो ।

व्यवस्थापक द्वा भन्नुहुन्छ–‘भारतमा पूरा क्षमतामा फिल्म हल चलिसके, त्यहाँको फिल्म ल्याउन ठूलो रकम तिर्नुपर्छ, हलको अकुपेन्सी आधा हुँदा वितरकहरुको आट्न सक्नुभएको छैन । हल खोलेर १० लाख भन्दा बढी घाटा भइसक्यो । हामीले हल बन्द गर्यौ भने वितरकले झनै फिल्म रिलिज गर्नुहुन्न । केही न केही सुरुवात हुनुपर्छ भनेर नै हो जोखिम लिएका छौँ । मास्क सेनीटाइजरको खर्च निकाल्न समेत गाह्रो भइसक्यो । बिजुली त धेरै टाढाको कुरा । सरकारले पूर्ण क्षमतामा सञ्चालन गर्न दिए सम्भावना बढ्छ ।’
गुरुङ फिल्म हलमा प्रदर्शन हुँदा केही सहज भएको उहाँको भनाई छ । गुरुङ फिल्म एशोसिएशन नेपाल र मिडटाउन ग्यालरीयाबीच सम्झौता भए पश्चात गुरुङ फिल्म हलमा प्रदर्शन गर्न थालिएको छ ।

क्यूएफएक्स सिनेमाको फेन्चाइज पोखरा सिनेप्लेक्सको अप्रेशन मेनेजर राजन पुरीले दर्शक सहभागिता न्यून भएपनि फिल्म प्रदर्शन नियमित भैरहेको बताउनुभयो । ‘सो चलिरहेको छ । शुक्रबार र शनिबार ४ सोमा गरेर कूल ५०, ६० जनासम्म दर्शक भए, अहिले दैनिक २ सो देखाएका छौँ, दिनभरिमा फिल्म हेर्ने दर्शक १२, १५ जना मात्र हुनुहुन्छ’ उहाँले भन्नुभयो ।

उहाँसँग पनि हल खुलेर झनै घाटा भएको अनुभव छ । ‘पहिले नखुलेर टेन्सन अहिले खुलेर टेन्सन भएको छ, अप्रेसन खर्च, स्टाफ खर्च धान्न गाह्रो छ, तर हामी हल बन्द गर्दैनौ, चलाउन त चलाईराख्ने हो’ उहाँले थप्नुभयो । पोखरा सिनेप्लेक्समा १, २ जना दर्शक आएपनि फिल्म देखाउने गरिएको छ । पहिले एक दुई सो क्यान्सिल भयो, पूरै खाली नभएपनि खर्च धान्न सक्ने अवस्था छैन घाटामा चलिरहेको पुरीले पोखरा न्यूजलाई बताउनुभयो ।

मिड टाउन ग्यालरीयाका मेनेजर विपिन क्षेत्रीले हलमा दर्शक सहभागिता अपेक्षाकृत नभएको बताउनुहुन्छ । दर्शक सहभागिता छैन, कन्टेन राम्रो नभएर नै होला, एभरेजमा हेर्दा दिनमा १५ जनाजति दर्शक हुनुहुन्छ, दुई देखि तीन सो राखिराखेका छौँ’ उहाँले भन्नुभयो । तय भएका केही सो दर्शक नभएर नदेखाएको अनुभव पनि रहेको उहाँले सुनाउनुभयो । मंगलबार, शुक्रबार र शनिबार तीन दिन चार सो अन्य दिनमा दुई सो मात्र देखाउने गरेको उहाँले बताउनुभयो ।

‘नयाँ मूभी आउँदा एउटै सो मा २६ जनासम्म हुनु भएको थियो । शनिबार अलि बढी हुन्छ । अरु दिनमा अप्ठ्यारो छ । बन्द हुँदा भन्दा खुलेर घाटा भएको छ । सेक्युरिटी र सरसफाइको खर्च बढ्यो । अप्रेसन कस्ट बढ्यो’ उहाँले भन्नुभयो ।

उता लामाचौरमा रहेको हिमाज सिनेमाहल भने दुई सो चलेपछि फेरि बन्द गरिएको सञ्चालक मध्यका एक शम्भु थापाले बताउनुभयो । ‘शिव श्रेष्ठको फिल्म दुई सो देखाइयो त्यसपछि दर्शक नआएर हल बन्दनै गरेका छौँ’ उहाँले भन्नुभयो । माहोल राम्रो भएपछि हल सञ्चालन गर्ने उहाँले सुनाउनुभयो ।यता सिनेप्लाजा अन्र्तगतका विन्ध्यवासिनी, श्रीकृष्ण र बाराहीहल भने अझै सञ्चालनमा आएका छैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button