आठ खाद्य फार्मका सञ्चालकलाई कारवाही प्रक्रिया

पाेखरा न्यूज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आठ उद्योगका सञ्चालकलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ ।

ती उद्योगबाट उत्पादित खाद्यान्नको नमूनामा मापदण्डविपरीत (प्रतिकूल) भेटिएकाले खाद्य ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको सो कार्यालयले जनाएको छ । कारवाही प्रक्रियामा रहेकामध्ये तीन उद्योगविरुद्ध मुद्दा दायर, चार मुद्दा प्रक्रियामा र एक मुद्दामा सञ्चालकलाई बयान लिएको पाइएको हो । चालु आवको हालसम्म कपदही, चामल र दहीको तीन नमूना परीक्षण गर्दा लेबल अपूर्ण र न्यूनस्तर पाइएकाले मुद्दा दायर गरिएको कार्यालयका सूचना अधिकारी सिर्जना महर्जनले जानकारी दिनुभयो ।

दूध तथा दुग्ध पदार्थ, तेल तथा घ्यूजन्य, फल तथा सागपात, मसला, चियाकफी, नुन, खाद्यान्न दलहनजन्य, प्रशोधित पिउनेपानी, गुलियो पदार्थ, कन्फेक्सनरी, मासु तथा मासुजन्य, दानालगायतको ६६ नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । सतीमध्ये आठ वटामा प्रतिकूल वा मापदण्डविपरीत देखिएपछि तीन नमूनामा मुद्दा, चार नमूना मुद्दा प्रक्रियामा र एक बयान लिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिनुभयो ।

कार्यालयमा दोस्रो चौमासिकसम्म विभिन्न शीर्षकमा रु तीन लाख ३२ हजार ७५० राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु पाँच लाख ४० हजार ७६० राजस्व सङ्कलन भएको र बेरुजु नरहेको कार्यालयले जनाएको छ । कार्यालयले आवश्यकतानुसार कार्यक्षेत्रमा अनुगमन, खाद्य तथा दाना नमूना सङ्कलन तथा विश्लेषण, सूचना सन्देश प्रचारप्रसार, खाद्य तथा दाना अनुज्ञापत्र सिफारिस तथा जारी र नवीकरणका काम गर्दै आएको छ ।

कार्यालयका अनुसार खाद्य स्वच्छता अभियानमा होटल लोगो स्तरीकरण तथा नवीकरण, सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम र दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिँदै आएको छ । सो अवधिमा कार्यालयले विभिन्न खाद्य समूहका ३५ अनुज्ञापत्र जारी, ४३ नवीकरण, ११० सिफारिस गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिनुभयो ।

नेपालको तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत विसं २०३२ मा क्षेत्रीय खाद्य प्रयोगशालाको नामबाट मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्र परिसरमा यस कार्यालयको स्थापना भएको थियो । क्षेत्रीय कार्यालयहरुको अवधारणाअनुरुप नेपाल सरकार, कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत देशका पाँचै विकास क्षेत्रमा रहेका तत्कालीन क्षेत्रीय प्रयोगशालाको पुनः नामाकरण २०६० मङ्सिर ४ को मन्त्रिपरिषद् र २०६० चैत २३ को सामान्य प्रशासन मन्त्रालयको निर्णयानुसार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको रूपमा नामाकरण भई कार्यसञ्चालन गर्दै आएको थियो ।

तत्कालीन क्षेत्रीय खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको कार्यक्षेत्रअन्तर्गत धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन गरी नौ जिल्ला रहेका थिए । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र चितवन गरी छ जिल्लामा खाद्य निरीक्षक एकाइसमेत स्थापित भई कार्यसञ्चालनमा रहेका थिए । विसं २०७५ असार ३२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट विभागको पुनःसंरचना तथा विस्तार भई हाल यस कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका रूपमा कायम छ ।

कार्यक्षेत्रअनुसार कार्यालयले खाद्य तथा दाना स्वच्छता तथा गुणस्तर नियमन खाद्य तथा दाना उद्योग स्थापनार्थ सिफारिस, अनुज्ञापत्र जारी तथा निरीक्षण, खाद्य स्वच्छता एवं गुणस्तरसम्बन्धी तालिम, प्रचारप्रसार, खाद्य तथा दाना उद्योग बजार निरीक्षण, नमूना सङ्कलन र कारवाही, होटल रेष्टुरेन्ट, मिठाइ पसल अनुगमन निरीक्षण, खाद्य स्वच्छता एवं गुणस्तरसम्बन्धी उपभोक्ता शिक्षा तथा जनचेतना, खाद्य स्वच्छतासम्बन्धी दिवस, चाडपर्व, मेला लक्षित विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button