प्रदेश खेलकुद परिषद गण्डकीले पूरा गर्‍याे हनिमुन पिरियड

पोखरा न्यूज । प्रदेश खेलकुद परिषद गण्डकी गठन भएको हनिमुन पिरियड अर्थात १ सय दिन पुगेको छ । संघीय संरचना अन्तर्गत गठन भएको प्रदेश खेलकुद परिषद १ सय दिन पुगेको अवसरमा हिजाे एक पत्रकार भेटघाट कार्यक्रम मार्फत हालसम्म भए गरेका गतिविधिहरु सार्वजनिक गरिएकाे छ ।

सय दिनभित्रका आफ्ना गतिविधिहरु सार्वजनिक गर्दै परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशको खेलकुद विकासका लागि उत्साहित हुँदै अघि बढेको बताउनु भएकाे छ । उहाँ भन्नु हुन्छ–“हामी चुनौतीका बीच प्रदेशको खेलकुद विकासका लागि अघि बढेका छौं । हामी बीच बग्रेल्ती चुनौती छन् तर पनि हामी उत्साहित छौं ।” समाजमा मात्रै नभई राजनीतिक नेतृत्वमा समेत खेलकुद विकासको चेतना र महत्व जगाउन आवश्यक रहेको धारणा राख्दै जबसम्म राजनीतिकर्मीले बुझ्दैनन् तवसम्म यसकाे विकास अघि नसक्ने बताउनु भएकाे छ ।

नेपाली खेलकुदको संरचनागत रुपमा इतिहास लामो भए पनि अहिले पनि जिल्ला खेलकुदका कार्यालयहरु भाडामा सञ्चालन हुँदै आएको बताउँदै सदस्य सचिव गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पहिलो लक्ष्य विभिन्न खेलकुदका प्रशिक्षकहरु उत्पादन गर्नेतर्फ परिषद अघि बढेको जानकारी दिनु भएकाे छ । उहाँले १ सय दिनमा परिषदले ४ वटा वोर्ड वैठक, २ वटा कार्य समितिको वैठक तथा जिल्ला अध्यक्षहरुको सहभागितामा जुम बैठकहरु सम्पन्न गरिएको  पनि जानकारी दिनु भयाे ।

परिषदले पोखरा रंगशालामा करिव ६५ लाखको लागतमा प्रशासनिक भवनको निर्माण गरिरहेको बताउँदै उहाँले पोखरा रंगशालामा शौचालयको समस्या देखिएको बताउँदै करिव २५ लाखको लागतमा यहि असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी  कार्य अघि बढेको छ । परिषदले यो बीचमा आफ्नो लोगो र भिजन स्टेटमेन्ट समेत तयार गरी अघि बढेको बताउँदै आर्थिक वर्ष २०७८/०७९ का लागि नवनियुक्त मुख्यमन्त्रीलाई बधाई दिंदै कम्तिमा पनि प्रदेशको कुल बजेटको २ प्रतिशत बजेट विनियोजनका लागि आग्रह गरिएको उहाँले बताउनु भएकाे छ ।  प्रदेश सरकारका मुख्यमन्त्रीलाई १३ औं दक्षिण एशियाली खेलकुद र ८ औं राष्ट्रिय खेलकुदमा पदक विजेताहरुलाई प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोप यथासिघ्र उपलव्ध गराउन आग्रह गरिएको पनि उहाँकाे भनाइ छ ।

गत चैत १ गते आइतबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले  गण्डकी प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद १४ को क बमोजिम गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । उहाँ खुला प्रतिस्पर्धात्मक आह्वानअनुसार परिषद्को सदस्य सचिवमा नियुक्त हुनुभएकाे हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button