विश्वकप फुटबल २०२२ को लागि कतार तयार: प्रधानमन्त्री अलथानी

तिलु शर्मा पौडेल, दोहा कतार । कतार मध्यपूर्वमा नै पहिलो पटक हुन् लागेको विश्वकप फुटबल प्रतियोगितालाई कोरोनाका कारण प्रभाव नपर्ने कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुल्लाजिज अल थानीले बताउनु भएको छ l कतारबाट प्रकाशित हुने विभिन्न छापा मिडियाका सम्पादकहरूसँगको पत्रकार सम्मेलनमा अल थानीले उक्त कुरा बताउनु भएको हो l

सुरुवाती चरणमा कोरोनाले केही प्रभाव पारे पनि विश्वकप परियोजनामा काम गरिरहेका कम्पनीहरूसँगको समन्वयमा आवश्यक सबै सामग्री जुटाएर पूर्वाधार तयार गर्न हामी सफल भएका हौँ’ प्रधानमन्त्री थानीले पत्रकार सम्मेलनमा भन्नु भयो, ‘प्रतियोगिता आयोजनाका लागि कतार हरेक पक्षबाट तयार छ।’ यही वर्षको अन्त्यमा कतारमा हुने गल्फ कपबाट पनि कतारले कति कार्य सम्पादन गरी सकेको छ भन्ने प्रस्ट हुने थानीले बताउनु भयो l

विश्व कपको लागि ठुलो सङ्ख्यामा स्टेडियमको निर्माण कार्य सम्पन्न भइसकेको छ भने खेल आयोजना गर्न कतार पहिलेदेखि नै तयार भएको उहाँको भनाइ थियो । निर्माण सम्पन्न भइसकेका स्टेडियममा महत्त्वपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएका छन् l कतारको राष्ट्रिय दिवसको अवसर पारेर १८ डिसेम्बर, २०२२ मा विश्व कपको अन्तिम खेल हुने मुख्य लुसेल स्टेडियमको तयारी ९० प्रतिशत पूरा भइसकेको र बाँकी स्टेडियमको तयारी अन्तिम चरणमा पुगेको थानीले बताउनु भयो ।

विश्व कप प्रोजेक्ट सम्बन्धी अन्य पूर्वाधार पनि उत्कृष्ट तथा द्रुतगतिमा तयार हुँदै गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री थानीले स्पष्ट पार्नु भयो। दर्शक, नागरिक तथा बासिन्दाको स्वास्थ्य सम्बन्धी चासोलाई स्पष्ट पार्दै थानीले ‘फिफा विश्व कप सुरु हुने बेलासम्म विश्वका धेरै देशले आफ्ना नागरिकलाई खोप दिइसक्ने र कोभिडविरुद्ध खोपको पूर्ण मात्रा नलगाएका दर्शकले प्रवेश नपाउने थानीले स्पष्ट पार्नु भयो ।

कतिपय देशले आफ्ना सबै नागरिकलाई कोभिडविरुद्ध खोप प्रदान गर्न असमर्थ हुनेतर्फ सङ्केत गर्दै थानीले विश्व कप हेर्न आउने सम्भावित विदेशी दर्शकको लागि १० लाख खोप निःशुल्क प्रदान गर्न खोप निर्माता कम्पनिसँग कुराकानी भई रहेको जानकारी दिनु भयो l

२०२२ को नोभेम्बर २१ बाट सुरु हुने विश्वकपको उद्घाटन अल बायत स्टेडियम अलखोरमा हुनेछ भने अन्तिम खेल लुसेल स्टेडियममा हुनेछ l विश्वकप सम्पन्न गर्नको लागि कतारले विभिन्न ८ बटा फरक फरक स्थानमा स्टेडियम तयार गरेको छ l

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button