थाकेको शरीरमा ऊर्जा भर्ने बागलुङको ‘लाखे नाच’

पोखरा न्यूज। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ । तर यस वर्ष भने बलेवामा नै कोरोना ‘हट स्पट’ बनिरहेकाले न लाखे नाच भयो र नत गाईजात्रा नै ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन यहाँका नेवार समुदायले गाई वा बाँसको डोकोलाई गाईका रूपमा सिँगारी नारायणस्थानमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । मृतक पुरुष भएमा पुरुषको पहिरन लगाएर बहर र महिला भएमा महिलाका पहिरन लगाएर गाई निकाल्ने प्रचलन छ ।

पहिले पहिले गाई र बहर नै निकाल्ने यहाँका नेवार समुदायले पछिल्लो सयम भने बाँसको डोकोलाई गाईको स्वरुप मान्ने गरेका छन् ।

यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । देशभरका नेवार समुदायको जस्तै बलेवाका नेवार समुदायको पनि मृतकका घरबाट गाई निकाल्ने समान संस्कृति रहेको नारायणस्थानका समाजसेवी नगेन्द्रध्वज श्रेष्ठ बताउँछन् ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा बलेवामा नाग नागिनी नाच, झुमा नाच र अन्य प्रहसनसमेत गर्ने चलन छ । “गाईजात्रामा ठट्टा गरिन्छ, मृत्यु भएका परिवारका लागि सान्त्वना दिन गाईजात्रामा सामेल सबैले रमाइलो गर्ने चलन हाम्रोमा छ”, बलेवाको नेवार समुदायका अगुवा हरिकुमार श्रेष्ठले भने, “अन्यत्रकोभन्दा हाम्रोमा नाच गान र व्यङ्ग्यको प्रकृति फरक छ ।” अष्टमीका दिन रोपाइँ नाच नाचेपछि गाईजात्रा विधिपूर्वक समाप्त हुन्छ ।

तत्कालीन बलेवा कोटमा पर्ने गाउँमा भदौको पहिलो मङ्गलबार हरेलो (भूमि पूजा) गर्ने चलन छ । यहाँका नेवार समुदायले नचाउने लाखे हरेलोदेखि तीजको दिनसम्म पर्वका समयमा नचाउने नेवारी परम्परा रहेको नेवार समुदायका युवा नारायण श्रेष्ठले बताए ।

“हरेलो, जनैपूर्णिमा र तीजमा पनि लाखे नचाउने चलन थियो रे”, श्रेष्ठ भने, “पछि तीजमा गाउने नाच्ने संस्कृति जुधेपछि तीजको दिन लाखे नाच्न छोडेको बुवाले सुनाउनुभएको थियो ।” शहरमा नेवार समुदायको संकृतिका रुपमा मात्रै रहेको भए पनि बलेवामा भने संस्कृतिसँगै पुराना पुस्ताको मनोरञ्जनको थलो गाईजात्रा र लाखे नाच भएको श्रेष्ठ बताउँछन्। सांस्कृतिकरुपमा हुने पूजाआजा र गाईजात्राबाहेकसँगै गाइने गीत र नाचले बलेवामा रहेको नेवारी संस्कृतिको फरकपन झल्काउँछ ।

बलेवाको गाईजात्रा र लाखेनाच हेर्न पुगेर फर्किंदा कैयौँ युवायुवती प्रेममा फसेर बिहेबारी हुने गरेका किस्सा पनि पुराना पुस्तामा छन् । यहाँ गाईजात्रा हेर्नका लागि अमलाचौर, पैँयुपाटा, कुश्मीशेरा, पर्वतको फलेवासलगायतका ठाउँबाट गाउँले पुग्छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button