‘सनराईज’ हेर्न सकिने गरी आजबाट पोखराको केवलकार पूर्ण रूपमा सञ्चालनमा

पोखरा न्यूज । पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार आज देखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

पोखराको पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केवलकार फागुन ६ गतेबाट सफ्ट ओपनिङ गरी सञ्चालनमा ल्याइएकोको चैत्र १गते बाट पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

पोखरा महानगरपालिका–१८ को सेदी बगरमा सञ्चालनमा आएको केवलकार प्राविधिक कार्यको लागि एक साता बन्द गरेर आजदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताउनुभयो ।

‘प्राविधिक कारणवश जेनेरेटर जडान कार्य सम्पन्न नहुँदा हामीले फागुन ६ गतेबाट सफ्ट ओपनिङ भनेर बिहान १० बजेदेखि सञ्चालन गर्दै आएका थियौ । अहिले एक साता जस्तो बन्द गरेर जेनेरेटर जडान कार्य पुरा गरेका छौँ । आजबाट सूर्योदयको अवलोकन गर्न सकिने गरी बिहान ५ बजेबाटै सञ्चालनमा आएको छ’, सञ्चालक त्रिपाठीले भन्नुभयो ।

हाल साँझ ५ /६ बजेसम्मको समय सम्म केवलकार खुला गरिने भएको र पर्यटकको चाहना र माग बमोजिम सूर्यास्तको समयलाई ख्याल गर्दै बेलुकाको समय थप घट गरिने उहाँले बताउनुभयो ।

फेवा किनारबाट साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय,सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई जोड्ने गरी हामीले निर्माण गरेको केवलकार पर्यटकको माग बमोजिम जुनसुकै बेला सञ्चालन गर्न हामी तयार छौँ’, निर्देशक त्रिपाठीले भन्नुभयो,

केवलकारको दुई हजार १६५ मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने त्रिपाठीले बताउनुभयो । केवलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गण्डोला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गण्डोला जडान गरिएको छ ।

केवलकारमा ३५ वटा यात्रु बोक्ने गण्डोला जडान गर्न सकिने उल्लेख गर्दै निर्देशक त्रिपाठीले पर्यटकको माग र चाप अनुसार गण्डोला थप गर्दै लगिने बताउनुभयो । केवलकारमा प्रतिघण्टा पाँच सय यात्रु ओहोरदोहोर गर्न सक्ने उहाँको भनाई छ । केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा रहेको उहाँले जानकारी दिनुभयो ।

शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि निर्माण गर्दै जाँदा हाल दुई अर्ब रुपैयाँ लागत पुगेको त्रिपाठीले बताउनुभयो । केवलकारको माथिल्लो स्टेसनमा निर्माण गरिएको भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप तथा अतिरिक्त जग्गा खरिदले गर्दा लागत मूल्य बढेको उहाँको भनाई छ । ‘हामीले पछिल्लो क्रममा केवलकारको रुटमा पर्ने निजी आबादीको २० रोपनी भन्दा बढी जग्गा खरिद गर्‍यौ, त्योसँगै केवलकारसँग जोडेर विविध भौतिक संरचनाहरू निर्माण गर्‍यौ जसले लागत धेरै बढायो’, त्रिपाठीले भन्नुभयो ।

केवलकारमा आन्तरिक पर्यटकहरूको लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकहरूका लागि ले ८ सय र अन्य मुलुकका पर्यटकहरूका लागि ९ डलर दुईतर्फी भाडा तोकिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button