परीक्षा दिएर फर्केका युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु

बारामा परीक्षा दिएर फर्केका एक युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

सोमबार सिमरामा ताेकिएकाे परीक्षा केन्द्रमा परीक्षा दिएर फर्कदै गर्दा बहुदरमाई नगरपालिका-९ का २३ वर्षीय विजय कुमार शर्माको मोटरसाइकल दुर्घटनामा मृत्यु भएकाे हो । ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत शर्माले हाँकेकाे प्रदेश-२-०३-०१८ प ९६० नम्बरको मोटरसाइकल जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सडकमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो । उनको मोटरसाइकल निकै तीव्र गतिमा आएर सडक छेउको बारमा ठोक्किएको थियो ।

शर्मालाई उपचारका लागि वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पताल लगिएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएकाे छ । शर्माको मृत्यु पछि उनका आफन्त तथा साथीहरुले नाराबाजीसहित आन्दोलन गरेका छन् ।

परीक्षा केन्द्र टाढा पारेको भन्दै उनीहरुले परीक्षा नियन्त्रक, क्याम्पस चिफलगायतविरुद्ध नाराबाजी गरेका थिए भने बजार पनि बन्द गराउँदै हिँडेका थिए । प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडपको अवस्था पनि सिर्जना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button