भारी वर्षा हुने भन्दै ४ दिनसम्म सतर्कता अपनाउन कास्की प्रशासनको आग्रह

पोखरा । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १७ गतेदेखि २० गतेसम्म देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले कास्की जिल्ला प्रशासन कार्यालयले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

कास्कीमा संवेदनशील मानिएका सडक खण्डमा सवारीलाई विशेष समय तालिका जारी गर्दै  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले  रातको समयमा सवारीसाधन नचलाउन आग्रह गरेकी छन्। यात्रा गर्नैपरे सार्वजनिक सूचनालाई ख्याल गरेर मात्र गर्न आग्रह गर्दै शर्माले भारी वर्षाका कारण डुबान, बाढी, पहिरो, सडक अवरोध र जनधनको क्षति हुनसक्ने सम्भावना भएकाले सबैलाई सचेत रहन आह्वान गरकी छन्।

शर्माका अनुसार कास्कीमा  बिरेठाँटी–घान्द्रुक, बिरेठाँटी–उल्लेरी, लुम्ले–लान्द्रुक र काहुँखोला–सिक्लेस सडक खण्डमा असोज १७ गते दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन हुने र असोज १८ गतेदेखि बिहान ५ बजेपछि मात्र गाडी चल्न पाउने व्यवस्था गरिएको छ । तर, भारी वर्षा भएमा यी मार्गमा कुनै पनि सवारी साधन नचलाउने स्पष्ट गरिएको छ ।

यातायात व्यवसायीलाई क्षमताभन्दा बढी यात्रु नचढाउन, सावधानीपूर्वक सवारी सञ्चालन गर्न र जोखिम बढेमा तत्काल रोक लगाउन प्रशासनले निर्देशन दिएको छ ।

त्यस्तै, सिद्धार्थ राजमार्ग, भूपि शेरचन राजमार्ग (पोखरा–बाग्लुङ), मुग्लिन–पोखरा सडकखण्ड, वेगनास–भोर्लेटार सडकखण्ड लगायत जोखिमयुक्त क्षेत्रमा आकस्मिक रूपमा प्रयोग गर्न डोजर, एक्साभेटर, लोडरलगायत हेभी इक्युपमेन्ट तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालय र निजी क्षेत्रलाई आदेश दिइएको छ।

बाढी, पहिरो र डुबानको सम्भावना रहेका नदी किनार र भीरालु क्षेत्रमा बसोबास गर्ने वासिन्दालाई सुरक्षित स्थानमा सर्न, आपतकालीन अवस्थामा प्रयोग हुने सामग्रीसहितको ‘झटपट झोला’ तयार राख्न र कुनै विपद् भएमा तुरुन्त प्रहरी, स्थानीय तह वा प्रशासनलाई जानकारी दिन प्रशासनले आग्रह गरेको छ।

यस्तै, हिमालसहितका पदयात्रा मार्गमा तत्काल ननिस्कन र असोज १७ देखि २० गतेसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न आम सर्वसाधारणलाई अनुरोध गरिएको छ।

भारी वर्षाको कारण हुन सक्ने सम्भावित क्षति कम गर्न जनताले आफू र आफ्नो परिवारलाई सुरक्षित स्थानमा राख्न, जोखिमपूर्ण गतिविधि नगर्न र कुनै पनि आकस्मिक घटना भए तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन  प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button