प्रहरीका हातहतियार र ड्रेस लुट्नेबाट सजग रहन एसपी कार्कीको आग्रह

पोखरा । कास्की प्रहरी प्रमुख नवीन कार्कीले जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटेका हातहतियार र प्रहरीको ड्रेस लुटेराहरूसँग रहेकाले सजग रहन आग्रह गरेका छन् ।

लुटेराहरूले भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा लुटेका हातहतियार र ड्रेसको दुरुपयोग गरी प्रहरीको भेषमा गतिविधि गर्न सक्ने तर्फ सचेत रहन एसपी कार्कीले आग्रह गरेका हुन् ।

‘अहिले फेरी असोज २३ गते आन्दोलन हुँदै छ भनेर अनावश्यक अफवाह फैलाउने काम भएको छ । त्यही बहानामा प्रहरीसँग लुटेका हातहतियार र ड्रेसको दुरुपयोग गरी प्रहरीको भेषमा गतिविधि हुन् सक्छन् । त्यसतर्फ सचेत र सजग रहन म कास्कीका नागरिक समक्ष आग्रह गर्दछु,’ एसपी कार्कीले पोखरा न्यूजसँग भने ।

कास्कीमा त्यस्ता शंकास्पद गतिविधि देखिएमा र व्यक्ति फेला परेमा तुरुन्त प्रहरीलाई खबर गर्न समेत उनले अनुरोध गरे । कास्की प्रहरीले सिसिटिभी र भिडियोका आधारमा लुटपाटमा संलग्नलाई खोजी गरिरहेको बताउँदै एसपी कार्कीले लुटिएका सामाग्रीहरू प्रशासन अथवा नजिकको प्रहरी कार्यालयमा बुझाएर अतिरिक्त कारबाहीबाट जोगिन सुझाव दिए।

कास्की प्रहरी शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिएको बताउँदै उनले सामाजिक संजालमा चलेको फेरी आन्दोलन हुँदै छ भन्ने जस्ता हल्लाका पछि नलागी आधिकारी सूचनालाई मात्र फलो गर्न आग्रह गरे ।

एसपी कार्कीले भने, ‘भर्खर दशैं सकिएको छ । तिहार र छठ जस्ता नेपालीका ठुला चाडबाड मुखमै छन् । अनावश्यक हल्ला फैलाएर फाइदा लुट्न खोज्ने गिरोहलाई परास्त गर्दै चनाखो भई चाडबाड मनाउन म सम्पूर्णमा आग्रह गर्दछु ।‘

शान्ति सुरक्षा कायम गर्ने प्रहरीको अभियानमा नागरिकको सहयोगको निरन्तरताको अपेक्षा कास्की प्रहरीले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button