काठमाण्डौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
गुल्मीका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले जानकारी दिए । जेठ १२ कोरोना पुष्टि भएका उनको तम्घासको आइसोलेसनमा उपचारकै क्रममा जेठ ३१ गते मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनी क्यान्सरको विरामी समेत रहेको गौतमले जनाए ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
नेपालमा आइतबार थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार दिउसो थप ४ सय २५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए । नेपालमा ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा संक्रमित मध्ये ९ सय ७४ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा पछिल्लो २४ घन्टामा ६१ जनाले स्वास्थ्य लाभ गरेका छन् ।