काठमाडौं। सलह नियन्त्रण गर्न भारतले हेलिकप्टर र ड्रोनहरु परिचालित गरेको छ ।
भारतका ९ प्रमुख राज्यमा तीव्र रुपमा सलहको संख्या बढेपछि त्यहाँ कीटनाशक छर्कन हेलिकप्टर र करिब एक दर्जन ड्रोनहरु मङ्गलबार परिचालन गरिएको हो । त्यस्तै भारत सरकारले एयरफोर्सको हेलिकप्टरमा जडान गरेर कीटनाशक छर्कन ५ वटा स्प्रे सिस्टम बेलायतबाट मगाएको छ । दशकौं पछि देखिएको सलहको सबैभन्दा डरलाग्दो प्रकोपसँग जुध्न १२ ड्रोन पनि प्रयोगमा ल्याइएको छ ।
सलह प्रकोप रोक्न त्यहाँको उड्डयन मन्त्रालयले सरकारी अधिकारीलाई राती ड्रोन उडाउने अनुमति समेत प्रदान गरिएको छ । राती ड्रोनबाट कीटनाशक छर्कने तथा ड्रोनले निगरानी राख्दा सलहको असर कम हुने विज्ञहरुको सुझाव छ । त्यहाँ वारुणयन्त्र र विशेष साधन कीटनाशक छर्कने कामका लागि प्रयोगमा ल्याइसकिएको छ ।
भारतमा नयाँ बाली रोप्ने र थन्क्याउने समयबीच सलहको झुन्ड आएकाले बालीमा ठूलो क्षति पुगेको छैन । तर संयुक्त राष्ट्रसंघको फुड एन्ड एगृकल्चर संस्थाले हिन्द महासागर हुँदै सोमालियाबाट सलहको नयाँ झुन्ड आउँदै गरेको हुँदा नयाँ बाली लगाउँदै गरेका कृषकलाई तयार रहन चेतावनी दिएको छ ।