काठमाडौं । सेयर बजार (नेप्से)मा सोमबार एकै दिन ४८ अंकको गिरावट आएको छ ।
यो गिरावटसँगै नेप्से परिसूचक २३ सयको नजिक पुगेको छ ।
साताको दोस्रो कारोबार दिन सेयर बजार २.७ प्रतिशतले गिरावट आउँदा नेप्से २३ सय सात दशमलव ४५ अंकमा झरेको हो ।
बजारमा नेप्सेको सेन्सेटिभ इन्डेक्स ८ दशमलव ४५ अंकले घटेर चार सय ४१ अंकमा पुगेको छ ।
सोमबार नेप्सेमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् ।
बजारमा ३९ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४२ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा दुई सय चार कम्पनीको सेयर घाटामा कारोबार हुँदा १८ कम्पनीका सेयरधनीले नाफा कमाए ।
नेप्सेमा सोमबार एक मात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भयो ।
जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य एक सय १४ रुपैयाँ बढेर एक हजार दुई सय ५६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स सेक्टरमा तीन सय ४२ अंकको गिरावट आएको छ भने नन्लाइफ इन्स्योरेन्स सेक्टरमा दुई सय १८ अंकले गिरावट आएको छ ।
यस्तै होटल, म्यानुफ्यक्चर र डेभलपमेन्ट बैंक सेक्टरमा एक अंक बढीले घटेको छ ।