पोखरा । स्थानीय तहको चुनाव पोखरामा शान्तिपूर्ण रुपमा शुरु भएको छ । कास्कीको पोखरा महानगरपालिकामा मतदाताहरुले शान्तिपूर्ण रुपमा मतदान गरेका छन् ।
विहान ७ बजेदेखि नै मतदान शुरु भएको छ । मतदाताहरु उत्साहित रुपमा मतदान केन्द्रमा पुगेका छन् ।
मेयरका अधिकांश उम्मेदवारहरु आ-आफ्ना मतदान केन्द्रमा मत खसाल्नको लागि पुगेको मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।
मतदानको शुरु मै पोखरा महानगरपालिकाका पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयरका प्रत्यासी धनराज आचार्यले विहान ७ : १० बजे वडा नं ३३ को शान्तिउदय मावि मतदान केन्द्रवाट मतदान गरेका छन् । मतदान स्थलमा ७ बजे अगावै पुगेका उनले सो केन्द्रको मतदान केन्द्र ‘ख’ बाट मत खसालेका हुन् ।
मेयरका एमालेका उम्मेदवार कृष्ण थापाले विहान ७.१५ बजे वडा नम्बर १६ को विन्ध्यवासिनी मावि बाटुलेचौर मैदान केन्द्रबाट मतदान गर्नेछन ।
मेयर पदका प्रत्यासी अटेरी अभियानका गनेस पौडेलले बिहान ७:३० बजे पोखरा-१४ मा मझेरी पाटनस्थित रामेश्वरी माविबाट मतदान गर्दैछन ।
उपमेयरकी प्रत्यासी पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेस की उम्मेदवार कोपिला रानाभाटले पोखरा २६ विजयपुर स्थित भवानीकालिका उच्च मा.विबाट मतदान गरेकी छन् । उनले विहान ७ बजे केन्द्र ‘क’ बाट मतदान गरेकी हुन् ।
नेकपा एमालेकी उपमेयरकी उम्मेदवार मंजु गुरुङले केहि बेरपछि मात्र मतदान गर्ने बताइएको छ । एमाले उम्मेदवार गुरुङको मतदान स्थल पोखरा ८ स्थित राम आधारभूत निमावि हो ।
कास्कीमा रहेका पाँच पालिकाका एक सय ५० मतदानस्थल र तीन सय ३६ मतदान केन्द्रमार्फत मतदाताले मतदान गर्दै छन् ।
निर्वाचन सम्पन्न गर्न कास्कीमा कर्मचारी र सहयोगी गरी दुई हजार ६ सय ८८ जना खटिएका छन् ।