
पोखरा । पोखरामा पेस्तोल देखाई चोरी र लुटपाट गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
असोज २७ गते पोखरा महानगरपालिका–१२ शितलादेवीमा देवीकला अधिकारीलाई एक व्यक्तिले पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।
घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अनुसन्धान गर्दै जाँदा लुटपाटमा संलग्न पोखरा–२० भलाम बस्ने २४ वर्षीय सुजन विकलाई पक्राउ गरेको हो ।
उनको साथबाट नक्कली पेस्तोल र एक थान मोटरसाइकल (ग १३ प ९८३२) बरामद गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार उक्त मोटरसाइकल पनि चोरीको भएको पाइएको छ ।
पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।





