पोखरा न्यूज -२३, साउन ।
खेलकुदका सम्बन्धित निकायबाट प्रयाप्त मात्रमा बजेट विनियोजन हुन नसक्दा कास्कीमा खेलाडीहरुको हितको लागि मनोरन्जन दशैं व्यापार महोत्सव हुने भएको छ । यसै बर्ष हुने आठौं राष्ट्रिय खेलकुदको लागि बृहत खेलकुद महोत्सवबाट जिल्लाका खेलाडीहरु छनौट गर्नूपर्ने भएकोले बृहत खेलकुद तथा मनोरन्जन दशैं व्यापार महोत्सव हुने भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
राष्ट्रिय खेलकुद परिषदबाट जिल्ला स्तरिय खेलाडीहरुको छनोट गर्न आवश्यक बजेट विनियोजन गर्न नसक्दा आफुहरुले विकल्पको रुपमा खेलकुदसंगै मनोरन्जन महोत्सवलाइ एकै साथ आयोजना गर्न लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले बताए । जिल्ला खेलकुद विकास समिति कास्की र नेपाल मेला महोत्सव संघ काठमाण्डौको संयुक्त आयोजनामा आउदो असोज २ देखि १४ गतेसम्म उक्त महोत्सव हुने भएको हो । उनले भने “ हामीले बृहत खेलकुदको गण्डकी क्षेत्र स्तरीय छनौट हुने बृहत खेलकुद महोत्सवको रुपमा हामीले लिएका छौं, हाम्रो खेलकुद महोत्सवमा मेला संघले न्यूनतम दुई लाख सहयोग गर्ने भएको छ।” उक्त महोत्सवबाट बचत भएको केहि रकम थप समितिलाइ खेलाडीहरुको लागि प्रदान गरिने भएको छ ।
महोत्सवमा दशैं पर्वलाई लक्षित गरी दैनिक उपभोग्य वस्तुको साथमा लोकदोहोरी गित संगीत, वालउद्यान र मनोरन्जनात्मक गतिविधिहरु हुने भएको अध्यक्ष गुरुङले बताए । समितिका कार्यालय प्रमुख प्रकाश बरालले रंगशालामा खेलकुदको विकासको लागि खेलकुदको साथमा अन्य मनोरन्जनात्मक कार्यक्रमलाई स्थान दिएको बताए । नेपाल मेला महोत्सव संघका केन्द्रिय अध्यक्ष नारायण महतोले व्याबस्थित ढंगले मेला र महोत्सव गर्नु पर्छ भन्ने सन्देस दिन पनि उक्त महोत्सव पोखरामा आयोजना गर्न लागेको बताए । उनले भने “कुनै पनि मेला महोत्सवमा जुवा जन्य खेलहरु खेलाउने गरेको पाईन्छ, राजश्व छलि, वाल उद्यानका सामानहरुमा भन्सार छलि भएको छ, भारतियहरुले दलालीको नाममा भ्याट तथा पानको विल प्रयोग गरेको पाईएको छ यस्तालाई सरकारले कारवाहीको दायरामा ल्याउन सक्नु पर्यो ।” मेला र महोत्सवको नाममा धेरै विकृती भएकोले त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायमा उजुरी गर्दा हालसम्म सुनुवाई नभएको उनले बताए । मेला महोत्सवको नाममा अवैध ढंगबाट कर छलि भएको उनको आरोप छ ।
नेपाल सरकारका सम्बन्धित निकायसंगको सहकार्यमा कानुन सम्वत ढंगले मेला र महोत्सव गर्दै आउदा हालसम्म संस्था २९ लाख नोक्सानमा परेको बताउदै अध्यक्ष महतोले घाटा लागे पनि महोत्सवको संस्कार सिकाउने अभियानमा आफुहरु लागेको बताए ।