पोखरा न्यूज- ११, माघ ।
गण्डकी प्रदेश सांसद मीना गुरुङले पोखरा–१३, कुँडहरस्थित मौला इस्लामिक आधारभूत विद्यालयका विद्यार्थीलाई स्वीटर तथा शैक्षिक सामग्री सहयोग गरेकी छन्।
विद्यालयमा शुक्रबार आयोजित समारोहमा उनले गरीब तथा विपन्न वर्गका एवं मुस्लिम समुदायका ७५ जना विद्यार्थीलाई सो सामग्री हस्तान्तरण गरिन् ।
सो क्रममा सांसद गुरुङले पाठ्यक्रममा मात्र सीमित नभई व्यवहारिक र सीपमूलक शिक्षामा समेत दिनुपर्ने बताइन् । उनले शिक्षा क्षेत्रमा आवश्यक पहलका लागि प्रदेशसभामा आवाज उठाउने पनि बताइन् । उचित कामको उचित ज्याला पाउनुपर्नेमा कतिपयले त्यस्तो नपाएको भन्दै उनले यसलाई कार्यान्वयन तहमा लैजाउनुपर्ने उनको जोड थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष इक्राम मियाँको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रअ शेरअलि मियाँले गरेका थिए । विद्यालयले विपन्न तथा गरीब ३५ जना विद्यार्थीलाई आवासीय सुविधा दिँदै पढाउँदैआएको शिक्षिका मैयाँ सिग्देलले जानकारी दिइन् ।
सांसद नहुँदै पनि हङकङ व्युटी इन्स्टिच्यूटबाट हुने आम्दानीको केही रकम सामाजिक सेवामा खर्चिदै आएकी उनले सांसदपछि तलबभत्ता समेत सामाजिक कार्यमै लगाउने घोषणा गरेकी छन् ।
उनले अघिल्ला सातामात्रै पोखरा १४ स्थित भयेश्वरी स्कुलका १ सय ३० जना विद्यार्थीलाई र पोखरा १७ को नमूनाटोलका ज्येष्ठ नागरिकलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेकी थिइन् ।