दीननाथ बराल, पोखरा न्यूज – ०८, भदौ । सांसद, उद्योगपति एवं समाजसेवी सुर्य बहादुर केसीले महिला पत्रकारहरुलाई प्रोत्साहनका लागि ६ लाख रुपैयाको अक्षयकोक्ष स्थापना गरेका छन्। नेपाल प्रेस युनियन कास्कीले संचालन गर्ने गरी प्रदेश स्तरिय रुपमा महिला पत्रकारलाई प्रोत्साहन हुने गरी बार्षिक ५१ हजार राषिको पुरस्कार प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरेका हुन्।
आइतबार कोष स्थापनाको लागि युनियन कास्कीका अध्यक्ष नविन सिग्देललाई रकम हस्तान्तरण गर्दै सांसद केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गर्दै महिला पत्रकारलाई प्रोत्साहन हुने गरी पुरस्कार वितरण गर्न युनियनलाई आग्रह गरेका छन्। शुरुको बर्ष महिला र दुई बर्षमा एक बर्ष महिला पर्ने गरी पुरस्कार वितरण गर्न आग्रह गर्दै सांसद केसीले आफ्नी बहिनिको नाम समेत जोडिने गरी आफुहरुले पुरस्कार स्थापना गरेको जनाए ।
उनले भने “यो पुरस्कारले मातृ शत्तिको सम्मान होस, जात, धर्म, आस्थाको मुल मन्त्रबाट माथि उठेर यो पुरस्कारलाई लैजान सक्नुहोस आवश्यकता र उपयुक्त व्यक्तिको छनौट होस मेरो यही कामना छ ।” देश भरीका पत्रकारको उपचारको लागि आफ्नो ५ जनाको परिवारबाट राम्रो रकमको पत्रकार उपचारार्थ उर्जा अक्षयकोष स्थापना गर्ने बताए ।
उनले भने “यो पुरस्कारको लागि कसैले भनेर होइन, मेरो व्यक्तिगत धारणा हो, मेरो आफ्नो इच्छा छ, पत्रकार उपचार गर्न कति कठिन अवस्था छ त्यो मलाई राम्रोसंग थाहा छ, दुःखमा परेका पत्रकारलाई रहात स्वरुप एउटा पुरस्कार स्थापना गर्ने हामी गृहकार्य गर्दैछौं, यो छिट्टै हामी घोषणा गछौं । ” देशमा अझै पनि असारे विकास कार्यक्रमले निरन्तरता पाउँदा दिगो विकास हुन नसकेको उल्लेख गर्दै उनले चालु आर्थिक बर्षमा शुरुकै महिनादेखि योजनाबद्ध ढंगबाट काम गर्न आग्रह गरे । हतारमा गरेको काम टिकाउ नहुने बजेट मात्र खर्च हुने उनले बताए ।
युनियन कास्कीका सल्लाहकार रविन्द्र बास्तोलाले विचार र आस्थाबाट माथि उठेर पुरस्कार वितरण गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुस्कारको नाममा अक्षयकोष विनाका पुरस्कार दिगो र गुणस्तरिय नहुने दाबी गरे । युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले मिडियालाई व्यवसायी र राजनीति नेताले हेर्ने दृष्टिकोणमा सांसद केसीको नितान्त फरक भएको बताए । सांसद केसी मिडिया मैत्रि भएको उनले दाबी गरे । युनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्दन्र सापकोटा, सचिव प्रदीप पौडेल लगायतले वोलेका थिए ।
स्मरण रहोस सांसद केसीले यस अघि नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालन हुने गरी एक लाख ११ हजार १ सय ११ रुपैयाको कीर्ति स्मृती पत्रकारिता पुरस्कार घोषणा गरि सकेका छन्। महासंघ कास्की शाखाको पनि सबै भन्दा ठुलो पुरस्कार राशी हो । यसको लागि सांसद केसी परिवारले ११ लाख ११ हजार एक सय ११ रुपयाँको अक्षयकोष स्थापना गरेका हुन्। हरेक वर्ष राष्ट्रिय स्तरको पुरस्कार संचालनका लागी उक्त पुरस्कार स्थापना गरेका हुन् ।
कार्यक्रममा पत्रकार ओम हमालकी श्रीमती मोनिका हमालले गिरफ्तारमा परेका आफ्ना श्रीमान पत्रकारिता गर्ने क्रममा पक्राउ परेकाले उनको विना शर्त रिहाईको पहल गर्न पत्रकार माझ आग्रह गरिन्। उनले भनिन“ पत्रकारको नाममा धेरै पुरस्कार स्थापना भएको रैछ, खै ओम जीले हालसम्म एउटा पुरस्कार पनि पाउनु भएको छैन, केही पत्रकारलाई पुरस्कार राख्ने ठाउँ नभएको मैले थाहा पाएकी छु तर मेरा श्रीमान पत्रकार भएकै कारण आज हतकडि लगाएको छ, उनको रिहाईको लागि सबै पत्रकारले पहल गर्नु पर्यो ।”
पोखराका पत्रकारहरुको एक समुहले पत्रकार ओम हमाललाई आइतबार भेटघाट गरेको थियो । जनसंचार डटकमका सम्पादक हमालले आँफु रिपोर्टिङमा रहेको समयमा पक्राउ परेको बताए ।