आर.आर. पौडेल, पोखरा न्यूज -२८ मंसिर। लोकबाजा भन्नाले लोकले परम्परादेखि विभिन्न अवसरमा बजाउदै आएका बाजा हुन् । यस्ता बाजाको आफ्नै महत्व रहन्छ । तर नयाँ पुस्तालाई यस्ता परम्परागत बाजाको बारेमा जानकारी हस्तान्तरण गर्न नसक्दा लोकबाजा लोपोन्मुख अवस्थामा पुगेका छन् ।
यसरी लोपहुने अवस्थामा पुगेका बाजालाई संरक्षण गर्न पोखरामा दुई दिने गण्डकी प्रदेशका धूनहरु कार्यक्रम आयोजना गरियो । मंसिर २० र २१ गते लोपोन्मुख नेपाली संस्कृतिका संरक्षणका लागि भनेर आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशमा प्रचलनमा रहेका ९५ थरी बाजा प्रर्दशन गरिएको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा लोपोन्मुख बाजा सम्मेलन तथा गण्डकी प्रदेशको बाध्यवादनहरुको प्रस्तुति गण्डकीका धूनहरु कार्यक्रम भएको हो । हिमाली साँस्कृतिक परिवारको सहकार्यमा भएको कार्यक्रमले लोपोन्मुख नेपाली लोकबाजा संरक्षणका साथै विकास गर्न सघाउ पुर्योएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा कार्यक्रमका संयोजक प्राज्ञ अशोक राईले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रचलित एवम लोपोन्मुख बाजा प्रदर्शनी, कार्यपत्र प्रस्तुती, अन्तरक्रियाका साथै बाजाका धूनहरु प्रस्तुत गरिएको थियो । पहिलो दिन बाजाहरुको प्रदर्शनी गैह्रापाटनस्थित कुमुदिनी होम्समा भयो । जहाँ तुलसी प्रभासले गण्डकी प्रदेशको पञ्चैबाजा र पिताम्बर महतो थारुले नवलपुरको थारु धूनका बारेमा कार्यपत्र प्रस्तुत गरे । लोपोन्मुख बाजाको बारेमा अन्तरक्रिया कार्यक्रम समेत भयो ।
कार्यक्रमको दोश्रो दिन पोखरा उद्योग बाणिज्य संघको हलमा आयोजित कार्यक्रममा लोपोन्मुख बाजाहरु घन्काइए । लोपोन्मुख आर बाजा, पात, सारांगी, त्हउदु, टुङ्ना, ह्याङ्जे, ढग्ने, मानर, खैजडी, मृदा, ता, ढल्की आदी प्रचलित बाजाहरुले घन्किदा कार्यक्रममा रौनकता थप्यो ।
सो कार्यक्रममा लोपोन्मुख बाजा ढल्कीको प्रस्तुति, भलकमान गन्धर्व सारांगी पाठशाला कास्कीले गाईने धुन, डाँफेचरी, आर बाजा, सारंगी, मादल, मुजुरा, नेवा खल कास्कीको प्रतिनिधित्व गर्दै तेर्सापट्टि ताया मचा समितिले नेवारी धुन, मृदा, झ्याली, ता, ढल्की बाजाको धुन सुनायो । सिर्सेकोट नौथुम तमु समाजले पातको धुन प्रस्तुतिसँगै लोपोन्मुख ढिलो भाका प्रस्तुत गर्यो।
लोपोन्मुख लोकबाजाहरु नयाँपुस्तालाई जानकारी गराउदै लोपोन्मुख बाजाको संरक्षण गर्ने उद्धेश्य रहेको कार्यक्रममा दुधपोखरी तमु समाज पोखराले स्वर्ग जाने धुन, त्हउदु, झ्याली बाजाको प्रस्तुति, बौद्ध अर्घौ सदन पोखराले लामा बाजा र बौद्ध धुन, तमु प्ये ल्हु संघले पच्यु, क्याप्री, बोन्पो लमको बाजा धुन, ढ्याङग्रो, शंख र झ्यालीसहित प्रस्तुति गरेको स्थानिय संयोजक तेज केसीले जनाए ।
कार्यक्रममा लाफा मगर समाज घाँसीकुवाले कौडा धुनसँगै खैजडी, झ्याली र मुजुरा, लेखनाथस्थित सत्संग भजन कृतन समुहले भजन प्रस्तुति नवलपुर थारु समाजले थारु सँस्कृति धुनहरु, मानर र मुजुर बाद्यबादनसहित प्रस्तुति नेपाल दैविक सनतन धर्म संरक्षण समिति, पञ्चै बाजा समुहले लोपोन्मुख धुनहरु र बाजाहरु सनाही, नरसिंह, दमाह, ढोलकी, ट्याम्को आदीको धुन प्रस्तुत गर्दा दर्शक उत्साहित बने ।
पञ्चै बाजा समुहलले प्रस्तुती राख्दा दर्शकले छमछमी नाचेर साथ दिए । कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारको नृत्य प्रस्तुती थप आर्कषणको रुपमा रहेको थियो । नेपालमा हालसम्म १ हजार ३ सय ५० प्रकारका लोक बाजा भेटिएको पञ्चैबाजा सम्बन्धि कार्यपत्र प्रस्तुतकर्ता तुलसी प्रभासले बताए । त्यस्ता बाजाहरु जातिय बाजाको रुपमा पनि प्रचलनमा रहेको उनले जनाए ।