समाचारको गुणस्तरीयता कायम गर्न प्रशिक्षण शुरु

पोखरा न्यूज – १५, वैशाख । गोरखापत्र संस्थानले समाचारको गुणस्तरीयता अभिवृद्धि लगायतका विषयलाई लक्षित गरी आज यहाँ गण्डकी प्रदेशस्तरीय प्रशिक्षण शुरु गरेको छ ।

दुईदिने प्रशिक्षणमा प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका गोरखापत्रका समाचारदाता सहभागी छन् । प्रशिक्षणको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सरकारको आवाजका रुपमा रहेको गोरखापत्रको विभिन्न कार्यालय एवं जनताको सहज पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने बताए ।

जनता र तीनवटै तहका सरकारलाई जोड्न गोरखापत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले जनस्तरका समाचारलाई आम पाठकमाझ पुर्याउनुपर्ने धारणा राखे । प्रदेश सरकारबाट रेडियो नेपालको प्रदेश प्रसारण कार्यालय परिसरमा सञ्चारग्राम निर्माण गर्ने तयारी गरेको जानकारी दिँदै उहाँले सरकारी सञ्चारमाध्यमसँग सहकार्य गर्दै अघि बढिने बताए  ।

संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले देशको जेठो सञ्चार संस्था गोरखापत्रलाई समयसापेक्ष गुणस्तरीय बनाउन सातवटै प्रदेशमा ब्यूरो कार्यालय स्थापना गरिएको बताए । समाचारको गुणस्तरीयताका साथै यसको प्रभावकारिता वृद्धि गर्न प्रत्येक प्रदेशमा समाचारदातालाई तालीम दिइएको उनले जानकारी दिए ।

गोरखापत्रलाई जनताको पठनीय बनाउने उद्देश्यका साथ मुलुकका ७५३ वटै स्थानीय तहमा समाचारदाता नियुक्ति गर्दै अगाडि बढ्ने तयारी भइरहेको बताउँदै उनले विभिन्न प्रकाशनको माध्ययबाट संस्थानलाई आत्मनिर्भर बनाउने गरी अघि बढेको बताए  ।

गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालले प्रदेशबाटै पत्रिकार प्रकाशनको तयारी भइरहेको जानकारी दिँदै त्यसका लागि प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको बताए । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, डा धनपति पाण्डे, गोरखापत्र गण्डकी प्रदेश ब्यूरो प्रमुख गणेश पौडेललगायतले गोरखापत्रले पाठकको मन जित्न सक्ने समाचार पस्कनु पर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button