
पोखरा,०३ फागुन –
भारतलाई हराउँदै १२ औं दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबलको उपाधि नेपालले जितेको छ । ६५ मिनेटसम्म १–० ले पछि परेको अवस्था उल्टाउँदै नेपालले उपाधि जितेको हो । नेपालले २३ वर्षपछि दक्षिण एसियालीस्तरमा फुटबलको स्वर्ण जितेको हो ।
यसअघि १९९३ को साग फुटबलमा भारतलाई ट्राइबेकरमा ४–३ ले हराउँदै उपाधि जितेको थियो । भारतले ३२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै अग्रता लिएको थियो । नेपाल ६६ औं मिनेटमा पाएको फ्रि किक मार्फत नेपाल खेलमा फर्कियो । फ्रि किकमा प्रकाश बुढाथोकीले गोल गरेका हुन् । ७२ औं मिनेटमा नेपालका नवयुग श्रेष्ठले अर्को गोल गरेर २–१ को अग्रता दिलाएका थिए ।
नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ तथा भारतले बंगलादेशलाई ३–० ले हराएर फाइनलमा स्थान बनाएका हुन् । सन् १९८४ को पहिलो साग फुटबलमा नेपालले बंगलादेशलाई हराएर स्वर्ण पदक जितेको थियो । सन् १९८७ मा भारतसँग पराजित भएर रजत पदकमा चित्त बुझाएको नेपालले पछिल्लो पटक सन् १९९३ मा भारतलाई हराएर स्वर्ण पदक जितेको थियो । नेपाल सन् १९९९ पछि यो पटक साग फुटबलको फाइनलमा पुगेको हो ।
समूह चरणको खेलमा नेपालले भुटानलाई ५–१ ले हराएको थियो भने बंगलादेशसँग २–१ ले हारेको थियो । स्रोत उज्यालो