तुलसाको मन छुने लोक दोहोरी गीत बजारमा

पोखरा, १५ बैशाख – 

लोक दोहोरी गायीका तुलसा जिसीको सातौ एल्बम ‘के मा बस्यो मोहनी’ बजारमा आएको छ । ‘के मा बस्यो मोहनी चुलठी कि चोलीमा हाँसो मा की बोलीमा’ गीत बजारमा आए सँगै चर्चा बढ्दै गएकोमा जिसी उत्साहित भएकि छन् । लय र शब्द सिर्जना रमेश विजीले गरेको यस गीतमा आवाजमा जिसीलाई कुमार पुनले साथ दिएका छन् । गीतको म्युजिक भिडियो समेत दर्शकको रोजाइमा पर्न सफल बनेको उनले बताइन् । पोखरामा छायांकन गरिएको म्युजिक भिडियोमा तुलसा जिसी र नविन तिमिल्सिना मोडलको भुमिकामा देखिएका छन् । मन छुने खालको यो रोयला गीतले रोधीमा बसेर गीत गाउने चलनको स्मरण गराउने दावी उनको छ । प्रेम थापाको निर्देशन, मधुर बस्नेतको छायाकंन र नविन घर्ति मगरको सम्पादनमा निर्माण भएको भिडियो यु टुव मार्फत हेर्ने दर्शकको समेत रोजाइमा पर्न थालेको छ । गीत कृष्ण फिल्म प्रालिको प्रस्तुतीमा बजारमा आएको हो ।

हुन त विगत ६ वर्षदेखि साँगीतिक क्षेत्रमा क्रियाशिल जिसीको आवाजमा दर्शक श्रोतालाई लठ्याउने क्षमता छ । त्यहि भएर पनि उनको प्रस्तुतीमा दर्शक श्रोता सजिलै आर्कषित हुन्छन् ।

वि.स.२०६८ मा ‘वैश जोवनमै’ गीत बजारमा ल्याएर साँगीतिक क्षेत्रमा उनको औपचारिक सूरुवात भएको हो । उनका ‘कस्तो होला बोली’, ‘हेराउन जाम हिड’, ‘जवानीले मागेको कुरा’, र ‘सम्झना छैन र’ एल्बमलाई दर्शक श्रोताले साथ दिएका थिए । उनी वि.स.२०६६ सालबाट साँगीतिक क्षेत्रको यात्रालाई अगाडि बढाउन लाहाचोकबाट पोखरा झरेकी थिइन् । पोखरा आएसँगै प्रतियोगीतामा सिमित बनेको उनको प्रतिभा दोहोरी साँझ र मेला महोत्सवमा घन्कन थालेको थियो । पछिल्ला दिनमा स्टेज कार्यक्रममा बढी व्यस्त देखिने उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान अञ्चल कार्य समिति कास्कीको कार्यसमिति सदस्य हुन् । गीत गाउने मात्र हैन म्युजिक भिडियोमा अभिनय गरेर मोडलको परिचय समेत उनले बनाएकी छन् । यसअघि आँखा झिमिझिमि, साह्रै दुख्यो मन, कस्तो होला बोली, जस्ले पनि ढाट्ने लगायतका गीतको म्युजिक भिडियोमा उनी मोडल बनिसकेकी छन् ।

प्रतियोगीतामा भाग लिदाँलिदै स्टेज कार्यक्रममा र दोहोरी साँझमा व्यस्त उनी हरेक साँझ पोखराको सिर्जनाचोकमा रहेको विसौनी दोहोरी साँझमा आफ्नो प्रस्तुती राख्ने गर्दछिन् । नयाँ गीत सुनेर प्रतिक्रिया दिन दर्शक तथा श्रोतालाई उनको आग्रह छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button