राजविराजमा सुँगुर आतङ्क

राजविराज, २६ जेठ –

सप्तरीको राजविराज नगर क्षेत्रभित्र आजभोलि सुँगुर छाडापनका कारण नगरवासी हैरान भएका छन् ।

करिब ६० बिघाको क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकामा सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारण जनताले दुःख पाउनुका साथै राजविराज नगरपालिकाले सँुगुर नियन्त्रणमा ध्यान नदिएकाले नगर भित्रको मुख्य चौकमा सुँगुरले दिसा गर्ने र थुपारिएको फोहरमा मुखले खनेर ठाउँ ठाउँमा दुर्गन्ध फैलिएको स्थानीयवासी पुरन्धर दासले बताउनुभयो ।

खासगरी राजविराजको मुख्य चौक दर्शन चौक, गजेन्द्र चौक, महावीर चौक, अस्पताल चौक र हटियासहितका ठाउँ जहाँ मानिसको चहलपहल धेरै हुन्छ, जताततैबाट सुँगुर आएर दिसा गर्नाले झन् नगरमा दुर्गन्ध फैलिएर बजारमा हिँड्ने मानिसलाई समस्या हुने गरेको सर्वसाधारणबाट गुनासो पाइएको छ ।वर्षौंदेखि यत्रतत्र सुँगुरले नगरमा सर्वसाधारणलाई हैरान पार्दै दुःख दिँदा पनि यसप्रति नगरपालिकाले कुनै ध्यान नदिएको नगरवासीले आरोप लगाएका छन् । सुँगुरपालकले सुँगुरलाई आफ्नो खोरमा नराखेकाले राजविराजमा सुँगुर आतङ्क बढ्दै गएको र नगरमा रोगको सङ्क्रमण समेत फैलिएको यहाँका बुद्धिजीवी बताउँछन् । यसप्रति कसैले ध्यान नदिएकाले यत्रतत्र सुँगुरै सुँगुर देखिने गरेको छ ।

सुँगुरले गर्दा यहाँ दुर्गन्ध फैलिएपछि लामखुट्टेको सङ्ख्यामा पनि वृद्धि भएको देखिन्छ । लामखुट्टेको सङ्ख्यामा वृद्धि भएपछि राति लामखुट्टेले टोकेपछि मलेरियाजस्ता रोग लाग्न सक्ने राजविराज–४ का विष्णुदेव शर्माले बताउनुभयो । राजविराजका गल्लीगल्लीमा बस्ने सर्वसाधारण जनतालाई मात्र हैरान नगरी सुँगुरले यहाँ रहेका केही सरकारी कार्यालयमा समेत सुँगुर पसेर कामकाजका लागि आउने सेवाग्राहीलाई समेत हैरान गर्ने गरेको एक सेवाग्राहीले गुनासो गरेका छन् ।

यसैबीच, राजविराज नगर क्षेत्रमा बढेको सुँगुर आतङ्क बारेमा सर्वसाधारण जनताबाट गुनासो पाइएपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङलाई नगरमा देखिएको छाडा सुँगर नियन्त्रणका लागि निर्देशन दिनुभएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button