काठमाडौँ, २८ असार –
नेपाली काँग्रेस र नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछि काँग्रेसको दृष्टिकोणका बारेमा नेता विमलेन्द्र निधिले सत्ता साझेदार दलले सरकारबाट समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री ओलीले राजीनामा गरी मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।
प्रमुख सत्ता साझेदार दलले सरकारबाट समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री ओलीले पदमा रहिरहनुको औचित्य नभएको भन्दै उहाँले समय खेर नफाली तत्काल राजीनामा गर्न आग्रह गर्नुभयो । अब बन्ने सरकार बहुमतीय नै हुने स्पष्ट पार्दै नेता निधिले भन्नुभयो, “नयाँ सरकारको नेतृत्वको बारेमा भोलि बिहान बस्ने काँग्रेस केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ ।” काँग्रेस नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नयाँ सरकारको नेतृत्व दिने सम्बन्धका मुख खोलेका छैनन् ।
माओवादी केन्द्रले नेकपा (एमाले) ले सो पार्टीसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै आज वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको छ ।
वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गर्न आयोजित पत्रकारसम्मेलनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सम्बन्धमा काँग्रेससँग सहमति भइसकेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “हामी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पक्षमा छौँ, सबै दलसँग छलफल गरेर केही दिनमै नयाँ सरकार गठन हुन्छ ।”
काँग्रेस र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि मधेसी दललगायत आन्दोलनरत पक्षका माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउने वातावरण बनाउने, संविधानले तय गरेका निर्वाचन समयमै सम्पन्न गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा टुङ्ग्याउने, भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्र रुपमा अघि बढाउनेलगायतका विषयमा सहमति भएको बुझिएको छ ।रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution