कोलकातामा भानुभक्तका नाममा सडक र सालिक

काठमाडौँ, १७ साउन –

नेपाली जनकल्याण समिति, भारत, पश्चिम बङ्गालस्थित हाउडा–५, दासनगरको आयोजनामा मनाइएको २०३औँ भानुजयन्तीमा कोलकाताका नेपाली समुदायको हितका लागि नेपाल भवन बनाइने, भानुभक्तका नाममा सडकको नामकरण गरिने उपयुक्त स्थानमा सालिक निर्माण गरिने घोषणा गरिएको छ ।

कोलकातामा नेपाल भवन बनाउने उद्देश्यमा बल पुरयाउने अभिप्रायले समितिका सल्लाहकार तथा साहित्यिक पत्रकार धर्मराज बरालले जनकल्याण समितिलाई रु पाँच हजार अर्पण गर्नुभयो भने भारतमा नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुरयाउन पर्यटकीय महत्वका नेपालका पशुपतिनाथ र मुृक्तिनाथका मन्दिर तथा काठमाडौँ वसन्तपुर दरबार क्षेत्रका पोस्टरहरु भारत पश्चिम बङ्गाल राज्यका सहकारी मन्त्री अरुप राय र सहभागीलाई हस्तान्तरण गर्नुभएको थियो ।

सहकारीमन्त्री रायले अर्को भानुजयन्ती अगावै सो सन्दर्भमा ठोस कदम चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा नारायणप्रसाद होमागार्इँँ, धनराज थापा, राजु पाठक, गणेश प्रधान, सञ्जीव गुरुङ, खिमराज बराल, शिशिर ढकाल, सन्दीप शर्मा लगायतले भानुभक्तीय रचना तथा आफ्ना रचना पाठ गरेर आदिकवि भानुभक्तप्रति श्रद्धा प्रकट गर्नुभयो ।

कार्यक्रममा मन्त्री राय र महावाणिज्यदूत एकनारायण अर्यालले नेपालबाट जानुभएका कवि प्रह्लाद पोख्रेललाई नेपाली भाषा र साहित्यको उन्नयनमा पु¥याएको योगदानका लागि जनकल्याण समिति परिवारका तर्फबाट सम्मान गर्नुभयो भने कवि पोख्रेलले भानुभक्तसम्बन्धी कविता वाचनसँगै आदिकविको भाषिक एवं साहित्यिक योगदानबारे उदाहरण प्रस्तुत गर्दै सम्बोधन गर्नुभयो । महावाणिज्यदूत अर्यालले नेपाली समुदायको भलाइ एवं नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा आफूले समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोजक समितिका संयोजक नरविक्रम थापा, जनकल्याण समितिका सभापति बद्रीविक्रम थापा र सचिव रामबहादुर कार्कीले कार्यक्रमका विविध पक्षबारे मन्तव्य राख्नुभयो भने पश्चिम बङ्गालका विधायक जटु लाहिरी र डा तानियाँले शुभकामना मन्तव्य प्रकट गर्नुभयो । सो अवसरमा जनकल्याण समितिद्वारा प्रकाशित ’बिहानी’ वार्षिक पत्रिकाको सत्रौँ अङ्क विमोचन गरिएको थियो । कार्यक्रममा नेपाली संस्कृति झल्किने रोचक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा कोलकातामा रहेका नेपाली समुदायको सहभागिता थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button