देशलाई आत्मनिर्भर बनाउन सकिन्छ – गभर्नर नेपाल

पाल्पा, २९ साउन –

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा खुलेका बैंकबाट पैसा परिचालन गरी नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ ।

नेपालमा परनिर्भरता रहकाले बैंकबाट कर्जाको सही परिचालन गरी उत्पादन बढाउनुपर्ने र परनिर्भरता हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।छोराछोरी पैसा कमाउन विदेश अब पठाउने होइन, स्वदेशमा नै केही गरी देशलाई आत्मनिर्भर बनाउने गरी युवा उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।

आर्थिक अभावका कारण परनिर्भर भएकाले अब ग्रामीण क्षेत्रमा बैंक स्थापना भएकाले त्यसबाट भरिपूर्ण उपभोग गरी देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउनुपर्नेमा उहाँको जोड थियो ।

पाल्पाको खस्यौली गाविसको हार्थोकस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालयको समुद्घाटन समारोहमा गभर्नर डा नेपालले चामल, तरकारीदेखि सुर्तीसम्म भारतबाट ल्याउनुपर्ने बाध्यता अब ग्रामीण क्षेत्रमा खुलेका बैंकबाट कर्जा लिई उत्पादन बढाएर परनिर्भरता हटाएर आत्मनिर्भर बन्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका प्रमुख कार्यकारी किरणकुमार श्रेष्ठले सरकारी स्वामित्वको बैंक भएकाले यो जनताको बैंकले देशका ३५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

वाणिज्य बैंकले दुई वर्षभित्र ७५ जिल्लामा शाखा कार्यालय स्थापना गरी जनतालाई सेवा प्रदान गर्ने बताउनुभएको छ ।

यस वर्षमात्र २० शाखा कार्यालय स्थापना गरी सस्तो र सुलभ ब्याजदरमा ऋण प्रवाह गरी जनताको जीवनस्तर माथि उठाउन सफल भएको बताउनुभएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button