पेट्रोलियम पदार्थको वितरण सहज गर्न निर्देशन

काठमाडौँ, ६ भदौ –

प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको सहज व्यवस्थापन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले आज आपूर्तिमन्त्री दीपक बोहरालाई टेलिफोन गरेर उपत्यकामा देखिएको इन्धन अभाव तत्काल समाधान गर्न भन्नुभएको हो । उहाँले भन्नुभयो, “उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ । पेट्रोल पम्पमा लाइन लाग्न थालेको छ, यसको कारण के हो रु यसको तत्काल समाधानका लागि प्रयत्न गर्नुहोस् ।”

प्रधानमन्त्रीले बजारको नियमित अनुगमन गर्न र पेट्रोलियम पदार्थ लगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य वस्तुको सहज आपूर्ति नियमित गर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराउनुभएको उहाँका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । जवाफमा आपूर्तिमन्त्री बोहराले तीन दिन सार्वजनिक बिदाका कारण काठमाडौँ उपत्यकामा इन्धनको आपूर्तिमा केही समस्या देखिएकाले बजारमा अभाव हुन नदिने विश्वास दिलाउनुभएको थियो ।

मङ्गलबारदेखि सहज हुन्छ – निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको जनाउँदैम मङ्गलबारदेखि नै पम्पमा देखिएको लाइन हट्ने जनाएको छ । इन्धन अभाव हुनुपर्ने कुनै कारण नभएको निगमको भनाइ छ । पेट्रोलियम पदार्थ पाइँदैन कि भन्ने मनोविज्ञानका कारण उपभोक्ताले अनावश्यक भण्डारण गरेकाले पम्पमा लाइन देखिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यकामा दैनिक चार लाख लि आवश्यक पर्नेमा केही दिनयता छ लाख लिभन्दा बढी पेट्रोलियम पदार्थ बिक्री गरिएको छ । निर्देशक साहका अनुसार शुक्रबार, आइतबार र सोमबार आवश्यकताभन्दा बढी मात्रामा इन्धन बजारमा पठाइएकाले मङ्गलबारदेखि लाइन हट्ने छ । शनिबार इन्धन बिक्री नगरिएकाले उपभोक्ताले अभाव हुने आशङ्काले भण्डारण गरेको निगमले अनुमान गरेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button