चितवनका प्रसाद महतो जो दाँहिने हात गुमाउदै गोहीको मुखबाट फर्केर आए

नारायण ढुंगाना, पोखरा न्युज –

“गोहीले हात लगेर के भो, ज्यान बाँच्यो, त्यसैमा खुसी छु”, हर्षित मुद्रामा प्रसाद महतोले भने ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पूर्वी चितवनको कुमरोज नजिकै रहेको इचर्नी खोलामा माछा मार्न जाँदा बुधबार अपराह्न गोहीको आक्रमणमा परेका ४६ वर्षीय प्रसाद महतो अहिले चितवनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन् ।

दाँहिने हात सोही दिन गोहीले चुँडेर लगेपनि ज्यान बचेकोमा खुसी भएको उनले बताए । आज बिहान अस्पतालमा भेट्दा उनलाई हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा प्रमोद लामिछानेले हेर्दै हुनुहुन्थ्यो । उनका भतिज विफल महतो भन्छन्, “हात गएर केही भा छैन, हाम्रो मान्छे बाँच्नुभो, त्यही ठूलो हो ।”

खैैरहनी वडा नं १३ धर्मपुर घर भएका उनी बुधबार दिउँसो ३ बजे माछा मार्न गएका थिए । अपरान्ह् ३ः३० बजे इचर्नी खोलामा तियारी जाल बिछ्याउँदै माछा मार्न थालेका थिए । उनका साथीहरु माइला र पलार सँगै थिए । दुई छेउबाट जाल बिच्छ्याउँदै जाँदा खोला छेउमै कहाँबाट मगरगोही आयो पत्तै भएन । “च्याप्प हात समात्यो, तान्न थालिहाल्यो, अनि पाँच फन्का घुमायो, पछा¥यो”, प्रसाद महतोले घटना विवरण सुनाउँदै भने, “लान खोजेकोथ्यो, म डगमगाइन र हात चुँडेर लग्यो ।”

उनको भनाइअनुसार त्यो समयमा आफूले मुड्कीले हानेपनि लट्ठी नभएकाले हात लगेको हो । सँगै रहेका माइलाले पनि लात्ता र मुड्कीले हानेका थिए । तर केही सीप नलागेको प्रसाद बताउँछन् । अहिले एलाइभ अस्पतालमा मुख्य शल्यक्रिया सफल भएको छ ।

“हड्डी लामो थियो । तीन सेन्टीमिटर हड्डी काटिएको छ”, डा प्रमोद लामिछानेले भन्नुभयो । उहाँका अनुसार अस्पताल आउँदा रगत बग्ने नसा बन्द भएकोले उनी बाँच्न सफल हुनु ठूलो भाग्य हो ।

सिधा जोडिएको नसा खुलेको भए रगत बगेर ज्यानै जाने डा लामिछाने बताउनुहुन्छ । अब करिब एक महिना अस्पताल बस्नुपर्ने उहाँको भनाइ छ । अहिले आराम गरिरहेका प्रसाद महतो आफू घरमा खानका लागि माछा मार्न गएको बताउँछन् ।

विदेशमा काम गरेर ९ महिनाअघि उनी घर फर्केका थिए । त्यही कमाएको पैसा अहिले उपचारमा प्रयोग गर्न पाएको उनले बताए ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button