पोखरामा खेलकुद प्रशिक्षणको लागि डोम बनाउँछौ–विष्ट

धन बस्नेत,
पोखरा न्युज ।

सागको पुर्व तयारीको लागि पोखरामा इण्डोर हल निर्माण गरिने छ । त्यसको लागि राष्ट्रिय खेलकुद परिषद बजेटको लागि आन्तरिक तयारी गर्दै टेण्डर प्रक्रियामा जुटेको छ । इण्डोर हल निर्माण भएपछि मार्शल आर्टदेखि भलिबल, ह्याण्डबल पनि प्रशिक्षण गर्न सकिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

परिषदका सदस्य सचिव केशवकुमार विष्टका अनुसार प्रशिक्षणको लागि ”डोम“ बनाईने छ । ”११ करोड बजेटको डोम बनाउने तयारीमा छौं । टेण्डर प्रक्रियामा लगेका छौं ।” पोखरा रंगशालामा स्थापना गरिएको मिडिया सेन्टरको सोमबार उदघाटन गर्दै सदस्य सचिव विष्टले भने–“डोममा प्रशिक्षणसँगै प्रतियोगिता समेत सञ्चालन गर्न सकिन्छ ।”

डोम सबै फेब्रिकेट्स(फलाम)को हुने छ । फाउण्डेशन(जग) भने सिमेण्टको बनाईने छ । जगको काम सकिएपछि स्टिल प्रयोग गरी डोम बनाईने छ । त्यसको लागि बैदेशिक सहयोगको लागि आग्रह समेत गरिसकिएको छ ।

सचिव विष्टले परिषदले खेलकुदको पुर्वाधारमा लगानीमा ध्यान दिईरहेको उल्लेख गर्दै सागको लागि पोखरामा एक अर्ब रुपैयाँको प्यारापिटसहितको भौतिक पुर्वाधार निर्माण गरिने बताए । “ग्लोबल टेण्डर भइसकेको छ ।” उनले भने–“टेण्डर प्रक्रिया पुरा गर्दा वर्षदिन भित्रमा भौतिक पुर्वाधार तयार पारिसक्ने छौं ।” प्यारापिट पनि स्टिलको हुने छ । फोल्डिङ सिष्टमको हुने छ । जुन अन्तराष्ट्रियस्तरमा समेत प्रचलनमा रहेको छ ।

कार्यक्रममा भौतिक पुर्वाधार निर्माण संयोजक एवं खेलकुद मन्त्रीका सल्लाहकार विजय बस्नेतले भौतिक पुर्वाधार निर्माणको लागि पोखराबासी तथा खेलकुदप्रेमीले सहयोग गर्नुपर्ने खाँचो औंल्याए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा सागको केही खेल पोखरामा गर्न सकिने भन्दै आवश्यक पुर्वाधारको लागि राखेप र मन्त्रालयले तदारुकता देखाउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले मिडिया सेन्टरले पत्रकारलाई समाचार सम्प्रेषणको लागि सहज हुने विश्वास व्यक्त गरे ।

पोखरा रंगशालामा झण्डै सवा करोडको लगानीमा भलिबल प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । १४ करोडको बहुउद्देश्यीय भवन निर्माणको अन्तिम चरणमा छ । कास्की जिल्ला व्याडमिन्टन संघले चारवटा कोर्टसहितको व्याडमिन्टन हल निर्माण गरिरहेको छ । टेनिसको पुर्वाधार,आर्चरी र स्केट पार्क छन् । क्रिकेट मैदान पनि अन्तराष्ट्रियस्तरको बनाउन चर्चा बेलाबेलामा हुदै आएको छ ।

सागलाई लक्षित गरी निर्माण गरिएको मिडिया सेन्टरमा अहिले दशवटा कम्प्युटर छन् । दुई ल्यापटप समेत राखिएको छ । समाचार सम्प्रेषण गर्न सहजताको लागि मिडिया सेन्टर स्थापना गरिएको हो । यद्यपी मिडिया सेन्टर भने केही साँघुरो छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button