पोखरामा कार्यरत पत्रकार नेपाल सम्मानित

पोखरा न्युज ।

विन्ध्यवासिनी फाउण्डेसनले पत्रकार विजय नेपाललाई लामो समयदेखि पत्रकारितामार्फत गीत संगीत क्षेत्रमा योगदान पुरयाएको भन्दै सम्मान गरेको छ ।

काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित भव्य समारोहमा विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ अवसरमा उनलाई ‘विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार–२०७४’ बाट सम्मान गरिएको हो ।

समारोहमा उनी सहितका नौ जना पत्रकारलाई नगद पाँच हजार रुपैयाँसहित ताम्रपत्र साथ सम्मान गरिएको छ । समारोहमा उनीहरुलाई पत्रकार सुमन खरेल, विदुर गिरी, मुक्तिनाथ विकास बैंकका सिइओ भरत ढकाल, फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मी लगायतले सम्मान गरे ।

सम्मानित अन्य पत्रकारमा अमरध्वज लामा, अनुपा श्रेष्ठ, विष्णुप्रसाद गौतम, ध्रुव लम्साल, जीवन पराजुली, मधु शाही, प्रतिमा श्रेष्ठ र रीता लिम्बु छन् । झण्डै १५ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील पत्रकार नेपाल हाल राजधानी र आदर्श समाज दैनिकमा आवद्ध छन् । मोफसलबाट सम्मानित हुने उनी एकमात्र हुन् ।

उक्त अवसरमा ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७४’ बाट वरिष्ठ गायक दीप श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मान गरियो ।
मुक्तिनाथ विकास बैंकको प्रस्तुति आठौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७४ मा ३२ विधाको मनोनयनमा पर्ने संगीतकर्मीको नामावली घोषणासहित प्रमाणपत्र हस्तान्तरण गरिएको छ । पुस १५ मा हुने अवार्डका लागि आधुनिक, लोक, पप, राष्ट्रिय भावनाको गीत, लोकदोहोरी, चलचित्रका गीत, संगीत, गायन, संगीत संयोजन, रेकर्डिङ, म्यूजिक भिडियो, मोडल लगायत विधा समेटिएको फाउन्डेसनका सदस्य सुवास रेग्मीले जनाए ।

यस्तै, फाउण्डेसनले मृर्गौलापीडित गायक तथा संगीतकार पूर्ण गुरुङलाई उपचारार्थ ५० हजार रुपैयाँ सहयोग र फाउण्डेसनका नयाँ १३ जना आजीवन सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गरयो । चर्चित कलाकारले गीत, नृत्य तथा हाँस्य प्रहसन प्रस्तुत गरेको कार्यक्रमको संचालन संचारकर्मी दिनेश डिसीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button