विदेशीको गुलामी बन्न जान नपर्नेगरी विकास गर्छौ – करण

कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले जनजातिहरुले नाक खुम्च्याउँदै विदेशीको गुलामी बन्न जान नपर्नेगरी देशको विकास गर्ने बताएका छन् । पञ्चकोशी आर्थर डाँडाखर्क समाज पोखराको १८ औं वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा बोल्दै उनले अब आउने बामपन्थीको सरकारले स्वदेशमै स्वरोजगार र रोजगारी सिर्जना गरेर कमाउनका लागि एयरपोर्टमा नाक खुम्च्याउँदै पासपोर्ट देखाएर विदेशीको गुलामी गर्न जाने परम्परा तोड्ने बताएका हुन् । उनले अहिलेको चुनाव कोहि कसैलाई सांसद, मन्त्री वा प्रधानमन्त्री बनाउनका लागि मात्र नभएको बताउँदै भने,‘नेपाललाई धनी वा गरीब के बनाउने ? विभेद अन्त्य गर्ने कि कायम राख्ने र देशलाई समृद्ध बनाउने कि विदेशीसँग मागिरहने बनाउने भन्ने सवाल हो, कांग्रेसले जिते देश गरीब भइराख्छ, विभेद कायम रहिरहन्छ र विदेशीसँग मागिरहनु पर्छ, बाम गठबन्धनले जिते देश धनी बन्छ, विभेद हट्छ र देश समृद्ध पनि बन्छ ।’

‘करण’ले मृत्यूको सूचक घण्टी मानिने सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउने उद्घोष पनि गरे । सेतीको वरीपरी तारबार गर्ने र दुबैतर्फ फुट ट्रयाक निर्माण गरेर सेतीलाई पर्यटकीय केन्द्र बनाउने बताए । उनले पोखरा एयरपोर्ट जत्तिकै ठूलो प्रोजेक्ट गाइपालन केहि महिनाभित्रै पोखरा भित्राउने दाबी गरे । उनले भने,‘अब २-४ बाख्रा वा गाई पाल्ने हैन, २-४ हजार पाल्नुपर्छ, अब चाँडै ५ हजार गाई पालनको पोखरा एयरपोर्ट जत्तिकै ठूलो प्रोजेक्ट आउँदैछ ।’

‘करण’ले आफू सांसद खानको लागि मात्र चुनाव लडेको नभई मन्त्री नै बन्ने र मन्त्री बनेपछि पोखरालाई नमूना ठाउँ बनाउने बताए । उनले कोरला नाकाबाट चाइनिज र भैंसेलोटन नाकाबाट भारतीय पर्यटक आउनेगरी नाका खोल्न लागेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button